नेपाली समुदायबीच किसन राईका विविध पहिचान थिए । धेरैका लागि एउटा आँटिला र जोशिला पत्रकार । कसैका लागि सामाजिक अभियन्ता त कसैका लागि राजनीतिक व्यक्तित्व । समग्रमा हङ्कङको नेपाली समाजलाई जुरुक्कै बोकेर हिँड्न सक्ने सामाजिक नेताभन्दा फरक पर्दैन उनलाई ।
बाबा छोक्टुन्डु (सिटी) भारतीय सेनामा कार्यरत रहेका बेला आमा शिवमाया पनि भारतको बैङ्लोरस्थित पल्टनमा बाबासँगै बस्नुहुन्थ्यो । त्यहीबेला वि.सं.२०२४ साल भदौ २४ मा बैङ्लोरमै बाबा सिटी र आमा शिवमायाको जेठो सन्तानका रूपमा जन्मिनुभएको हो किसन राई । तर स्कुलमा लेख्ने क्रममा उहाँको जन्ममिति २०२४ साल असोज २१ गते उल्लेख गरिएछ । त्यसपछिका सबै कागजातदेखि नागरिकतासम्म असोज २१ उल्लेख छ ।
चार वर्षको उमेरमा २०२८ सालमा पल्टनबाट परिवारसँगै धरान आएपछि उहाँको पठनपाठन मोरङको सतीसालेमा सुरु भयो । उहाँको परिवारले सतीसालेमा जग्गा किनेर खेतीपाती गर्न थालेको थियो । सतीसालेमा तीन कक्षासम्म पढाइ हुने स्कुल थियो । त्यहाँको पढाइ सकिएपछि उहाँले धरानको शिक्षा सदन स्कुलमा पढ्न थाल्नुभयो । त्यही स्कुलबाट एसएलसी पास गर्नुभयो ।
दश कक्षा पास गरेपछि उहाँ लाहुरेमा समेत भर्ती हुनुभएको थियो । भारतीय सेनाको राइफल म्यानमा भर्ती हुनुभएका राईलाई आमा शिवमायाले बरु पढाइ अगाडि बढाउन आग्रह गर्दै भर्तीमा जान दिनुभएन । त्यसपछि उहाँले पढाइलाई निरन्तरता दिनुभयो । महेन्द्र बहुमुखी क्याम्पस धरानमा पढ्ने क्रममा कम्युनिष्ट राजनीतिमा लाग्नुभयो । २०४३ सालबाट विद्यार्थी राजनीति सुरु गर्नुभएको उहाँ २२ वर्षको उमेरमा २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुनुभयो । देशव्यापीरूपमा चलेको जनआन्दोलनका क्रममा धरानमा बहुदलको पक्षमा पोष्टर टाँस्न सक्रिय उहाँलाई प्रहरीले पक्राउ गर्न घर घेरा हालेको थियो तर उहाँलाई भेट्न सकेन । १३ दिनसम्म भूमिगतरूपमा जनआन्दोलनका गतिविधिमा सक्रिय उहाँलाई जनआन्दोलन सफल भएपछि मात्र प्रहरीले खोजी गर्न छाडेको थियो ।
२०४७ सालमा बुबा सिटी राईको निधन भएपछि उहाँमा पारिवारिक जिम्मेवारी पनि थपियो । त्यसपछि उहाँले ज्ञानोदय स्कुल र स्टेशनरी सञ्चालन गर्नुभयो । स्कुल सञ्चालनकै क्रममा शोभा मगरसँग वैवाहिक जीवन सुरु गर्नुभएका राई नेपालमै व्यवसायसँगै राजनीतिक र समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । श्रीमती शोभा हङ्कङ गएपछि सुरुमा आइडीका लागि मात्र भनेर हङ्कङ जानुभएका राई विस्तारै हङ्कङकै नेपाली समुदायमा भिज्नुभयो । २०५६ सालमा हङ्कङ प्रस्थान गर्नुभएका राईले त्यसपछिको समयमा हङ्कङमै रहेर पत्रकारिता, समाजसेवा र राजनीतिलाई अगाडि बढाउनुभयो ।
नेपाली समाजलाई जागरुक गराउन उहाँले विभिन्न सङ्घ–संस्थाहरू स्थापना गर्नुभयो । समाजको दुःख–सुखमा हातेमालो गर्नुभयो । विकृति, विसङ्गतिविरुद्ध लड्नुभयो । हङ्कङ गएपछि उहाँको जीवनको अर्को पाटो सुरु भयो भन्दा हुन्छ । नेपालीहरूका लागि हङ्कङको आवासीय अधिकार पाउनु निक्कै ठूलो कुरा हो । आर्थिक उपार्जनका लागि हङ्कङ जान मरिहत्ते गर्नेहरू धेरै छन् तर उहाँले हङ्कङ पुगेर पनि व्यक्तिगत रूपमा आर्थिक उपार्जनतर्फ ध्यान दिनुभएन । बरु नेपाली समुदायको उन्नयनका लागि अहोरात्र खट्नुभयो ।
नेपालमा रहँदा राजनीति, व्यवसाय र सामाजिक कामबाट समाजमा प्रतिष्ठा कमाइरहनु भएका राई हङ्कङ पुगेपछि केही समय अन्य नेपालीजस्तै रोजगारी गर्न थाल्नुभयो । तर त्यसमा उहाँको मन रमेन । एउटा अन्तरवार्तामा उहाँले भन्नुभएको थियो, ‘नेपालमा हुँदा सम्मान गरेर किसन सर भन्ने मान्छेहरू हङ्कङमा उनीहरूसँगै काम गर्न थालेपछि किसनजी भन्न थाले ।’ उहाँले आफू अपमानित भएको महसुस गर्नुभयो । उहाँको स्वभाव विना गल्ती कसैसँग नझुक्ने थियो । त्यसपछि निर्माण क्षेत्रको काम गरेर पैसा कमाउने इच्छा उहाँमा कहिल्यै पलाएन । बरु हङ्कङको नेपाली समाजलाई जोड्न पत्रकारितालाई माध्यम बनाउनुभयो । नेपालमा रहँदा महेन्द्र बहुमुखी क्याम्पस धरानमा भित्ते पत्रिका सम्पादन गरेको अनुभव उहाँमा थियो । त्यसबाहेक सक्रिय पत्रकारिताको अनुभव त थिएन तर परिस्थितिले हङ्कङ पुगेपछि उहाँ पत्रकार बन्नुभयो ।
ब्रिटिस गोर्खा सैनिकका रूपमा नेपालीहरू हङ्कङ बसोबास गर्न थालेको लामै समय भइसकेको थियो । ब्रिटिस गोर्खाका सन्तानहरू दोस्रो चरणमा स्थायी बासिन्दाका रूपमा हङ्कङ प्रवेश गरिरहेका थिए । नेपालीहरूको सङ्ख्या बढ्दै जाँदा आफ्नै किसिमका आवश्यकताहरू थपिँदै गएका थिए । अहिलेको जस्तो सामाजिक सञ्जालको विकास भएको थिएन । नेपाली समुदायभित्रका खबर थाहा पाउन नेपाली भाषाको पत्रिका आवश्यक थियो ।
हङ्कङ बजारमा स्थानीय चिनियाँ र अङ्ग्रेजी भाषाका पत्रिका त पाइन्थे नै नेपालबाट प्रकाशन हुने प्रायः पत्रपत्रिका पनि जहाज चढेर हङ्कङ पुग्थे । तर तिनले हङ्कङमा विकास भइरहेको नेपाली समाजको आवश्यकता पूरा गर्न सक्दैनथे । हङ्कङबाटै प्रकाशित हुने नेपाली पत्रिकाको आवश्यकता महसुस गरेर उहाँसहित सात जनाको समूहले एभरेष्ट दैनिक सुरु ग¥यो । तर सानो नेपाली समाजमा दैनिक पत्रिका टिकाउन पर्याप्त विज्ञापनको अभाव थियो । किसन राईको पत्रकारिता व्यवसायभन्दा पनि नेपाली समुदाय जोड्ने मिसन थियो, त्यसैले तीन महिनापछि दैनिकबाट साप्ताहिक बनाएर पनि पत्रिकालाई निरन्तरता दिनुभयो ।
पत्रिका निकाल्न सुरु गर्दाका साथीहरू व्यावसायिक रूपमा टिक्न मुस्किल देखेर बाहिरिए तर राईले हिम्मत हार्नु भएन । बरु एक्लै रिपोर्टिङ, सम्पादन, बजार व्यवस्थापन, प्रोडक्सन सबै काम गर्न थाल्नुभयो । हकरदेखि सम्पादकसम्म एक्लैले धानेका कारण उहाँलाई ‘वान मेन पत्रकार’ भन्न थालियो । हङ्कङजस्तो कमाउने ठाउँमा पुगेर पनि समाजसेवा र पत्रकारितामा लागेको देखेर अचम्म मान्दै धेरैले उहाँलाई ‘किन यसो गरेको ?’ भनेर सोध्थे । उहाँ सहजै जवाफ दिनुहुन्थ्यो, ‘नेपालमै बसेर पनि पैसा कमाउन सक्ने अवस्थामा थिएँ तर हङ्कङ आएपछि नेपालीप्रति हेर्ने स्थानीयको दृष्टिकोण देख्दा मन दुख्यो । नेपाली मजदुरी गर्न मात्र आएका होइनौं भन्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ भन्ने सोचले पत्रकारिता गर्न थालेँ ।’
पत्रकारिताका कारण राईले समाजबाट धेरैपटक स्यावासी र प्रशंसा पाउनुभयो तर उत्तिकै धम्की पनि सहनु प¥यो । समाचारकै विषयलाई लिएर ज्यान मार्ने धम्कीदेखि कार्यालय तोडफोडसम्म भयो । तर उहाँले कहिल्यै हिम्मत हार्नुभएन बरु बदमासी गर्नेहरूको पर्दाफास गरिरहनुभयो । भन्ने गरिन्छ, नेपालमा पत्रकारितासम्बन्धी ज्ञान मात्र भए पुग्छ तर हङ्कङमा पत्रकारिता गर्न ज्ञानसँगै आँट पनि चाहिन्छ । उहाँ आँटले नै पत्रकारितामा टिक्नुभएको थियो । पछिल्लो समय उहाँको पत्रकारिता नेपाली समुदायले बुझेको थियो । उहाँले लेख्ने डरले कतिपय बदमासी गर्नेहरू सुध्रिएका छन् । एभरेष्टलाई दैनिकबाट साप्ताहिक हुँदै मासिकरूपमा प्रकाशन गर्नुभएका राईले एभरेष्टखबर डटकम अनलाइन पोर्टल पनि सम्पादन गर्दै आउनुभएको थियो । उहाँले पत्रकारितामार्फत् नेपाली समुदायमा पु¥याएको योगदानलाई साउथ चाइना मर्निङपोष्ट, टेलिभिजन र विभिन्न सञ्चारमाध्यमले पनि पटक–पटक कभर गरेका छन् ।
पत्रकारिता मात्र होइन, हङ्कङका सामाजिक संस्थाहरू स्थापनामा पनि उहाँको उल्लेखनीय भूमिका छ । हङ्कङमा नेपाली पत्रिका एभरेष्टको सम्पादक तथा प्रकाशक भएर दुई दशकभन्दा बढी समय बिताउनुभएका राईले नेपाल पत्रकार सङ्घ हङ्कङको अध्यक्ष, आदिवासी जनजाति महासङ्घ हङ्कङको अध्यक्ष, नेपाली साहित्य परिषद् हङ्कङको अध्यक्ष, अन्तर्राष्ट्रिय जनजाति समन्वय समितिका सदस्य एवम् संस्थापक, एनआरएनका केन्द्रीय सदस्य एवम् आईसिसी, गोर्खा सिमेन्ट्री ट्रष्टको सल्लाहकार, च्याम्बर अफ कमर्श हङ्कङको सल्लाहकार, साझा साहित्य शृङ्खलाका सल्लाहकार, धरान–हङ्कङ मञ्चका सल्लाहकार एवम् संस्थापक, नेपाली समाज हङ्कङको संस्थापक सदस्य, उपाध्यक्ष र सल्लाहकार, किरात राई यायोक्खा हङ्कङको अध्यक्ष र सल्लाहकारलगायत विभिन्न संस्थामा रहेर हङ्कङको नेपाली समाजमा महŒवपूर्ण योगदान पु¥याउनुभएको छ । सुरुमा एमालेबाट राजनीति गर्दै आउनुभएका उहाँ पछिल्लो समय हङ्कङमा रहेर जनता समाजवादी पार्टी निकट हुनुहुन्थ्यो । राजनीतिक आस्था र सामाजिक कामलाई अलग राखेर उहाँले समाजका लागि काम गर्दै आउनुभयो । हङ्कङमा रहेर पनि नेपालमा पनि उत्तिकै योगदान पु¥याउनु भएको छ उहाँले । धरानमा घण्टाघर स्थापना होस् या विभिन्न विकासका काममा उहाँले तन, मन र धनले सहयोग पु¥याउनुभएको थियो ।
उहाँलाई दुई दशकभन्दा लामो समय हङ्कङको नेपाली भाषा तथा साहित्य र पत्रकारिता क्षेत्रमा अथक रूपमा काम गरेकोमा उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले गतवर्ष ‘जनसेवाश्री’ पदकबाट सम्मानित गरेको थियो भने हङ्कङ सरकारले सन् २०२० मा नेपाली समुदायमा पु¥याएको योगदानबापत ‘चिफ एक्जिक्युटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ पदकले सम्मान गरेको थियो ।
पछिल्लो पटक नेपाली आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय सङ्गठन बनाउन सक्रिय रहनुभएका राई सोही क्रममा नेपाल आएका बेला आफ्नो पुख्र्यौली थलो ओखलढुङ्गा पुगेर धरान फर्किने क्रममा २०७८ कात्तिक ७ गते अर्थात् २४ अक्टोबर २०२१ मा खोटाङमा दुःखद् निधन भएको थियो । उहाँको निधनले हङ्कङको नेपाली समाजमा अपूरणीय क्षति भएको छ । हङ्कङवासी नेपालीहरूले उहाँको अभाव महसुस गरिरहेका छन् । अब किसन राई फर्किएर नआए पनि उहाँले समाजका लागि दिएको योगदान युगौंयुगसम्म रहनेछ । उहाँले समाजका लागि एउटा आदर्शको बाटो देखाएर जानुभएको छ । पैसाभन्दा ठूलो आफ्नो पहिचान हो, समाज हो भन्ने सन्देश उहाँको जीवनबाट पाउन सकिन्छ । यो आदर्शको बाटो हिँड्न सहज छैन तर, नेपाली समुदायको हितका लागि उहाँले देखाएको बाटो हिड्नु आवश्यक छ । तर अब एउटा प्रश्न खडा भएको छ, ‘उहाँले देखाएको आदर्शको बाटो हिँड्न अब को तयार होला ?’
(पत्रकार राजकुमार दिक्पाल र डम्बरकृष्ण श्रेष्ठको सम्पादनमा प्रकाशित किसन राईको स्मृति ग्रन्थमा प्रकाशित ।)