काठमाडौँ /नेकपा एमाले ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउन गृहकार्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी समितिको बैठकले प्रदेश सङ्गठन कमिटीको संयोजक र सदस्यको चयनको विस्तृत मापदण्ड बनाई तीन दिनभित्र पेस गर्न सङ्गठन विभागलाई जिम्मा दिएको छ । सङ्गठन विभागले तयार गरेको प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा पेस हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा केही सदस्यले पदाधिकारीलाई प्रदेशको संयोजक बनाउनुपर्ने भनाई राख्नुभयो भने केहीले स्थायी कमिटीका सदस्यबाट संयोजक बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसअघिको एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो । हाल एमालेमा केन्द्रीय कमिटीको मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् । रासस