धरान / केही समयदेखि युद्धविरामका कारण केही शान्तजस्तो देखिएको सिरियमा पछिल्लो समयमा फेरि हत्या हिंसाको शृंखला बढ्दो मात्रामा देखिएको छ । सिरियाली सेनाले अलेपो सहरमा शुक्रबार गरेको हवाई आक्रमणमा दश सर्वसाधारणको मृत्यु भएको छ । सेनाले त्यस क्षेत्रमा आइएस र अरु अतिवादीहरुको प्रभाव बढ्दै गएको भन्दै यो आक्रमण गरेको हो । सिरियाको उत्तरी सहर अलेपोको प्रमुख राजमार्गमा सिरियाली विद्रोहीहरुका बिरुद्ध सरकारी सुरक्षा निकायले कारबहीको अभियान चलाएको छ । गत हप्तापनि उक्त सहरमा आतङ्ककारीमाथि हमला भएको र केहीको ज्यान पनि गएको थियो । अलेपोमा रहेका भनिएका आइएसमाथि लक्ष्यगरी गरिएको यस हवाई आक्रमणमा कम्तीमा दश सर्वसाधारणको मृत्यु भएको थियो ।
सिरियाको नागरिक प्रतिरक्षा विभागले शुक्रबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । सिरियामा युद्धविरामको अवस्था पूर्णतया हटिसेको भने छैन । तर छिटपुट कारबाही गरिएका घटनाहरु भने आइरहेका छन् । बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यन राइट्सले पनि यस हताहतिको पुष्टि गरेको छ । तर यस अब्जरभेटरीले भने मृतकको सङ्ख्या आठ मात्र बताएको छ । सिरियामा केही समययता बारम्बार भएका हवाई आक्रमणहरुमा सर्वसधारणको मृत्युहुने क्रम बढेको बताइन्छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै जनआन्दोलन सुरु भएको थियो । यो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । पाँच वर्ष लामो यस आन्दोलनमा हालसम्म २ लाख ८० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यसैगरी लाखौँ व्यक्तिले आफ्नो घर छोडी छिमेकी देशमा शरणार्थी जीवन बिताउनु परेको छ । सिरियामा वार्ताका लागि भएका पछिल्लो समयका प्रयासहरु पनि सफल हुन सकिरहेका छैनन् । रासस÷एएफपी