प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । भ्रमणका एजेण्डाहरुमा विकासका केही नयाँ परियोजना तथा थाँती रहेका परियोजनालाई अगाडि बढाउने विषयलाई प्राथमिकतामा राखेको पाइएको छ । प्रचण्डले आन्तरिक रूपमा कुनै विवादमा नआउने र भारतलाई पनि नचिढ्याई भ्रमण सम्पन्न गर्ने सङ्केत दिएका छन् ।
’राष्ट्रवादी छवि’ मा आँच आउन नदिने र भारतसँग पनि सम्बन्ध सुमधुर बनाउनुपर्ने उनको जिम्मेवारी हो । सामान्यतया प्रधानमन्त्रीस्तरीय भारत भ्रमणमा लेनदेन र सौदाबाजी हुने गर्छ । यो पुरानो परम्परा नै हो । यो लनदेनमा नेपाललाई हित हुने अर्थात् भारतको मात्र स्वार्थ गाँसिएका सन्धि–सम्झौता हुन दिनु हँुदैन । यसमा प्रचण्ड चनाखो हुनु जरुरी छ । भारत भ्रमणमा उठाउनुपर्ने केही विषयहरु छन् । उनले ती विषयमा अडिग भएर उठान गर्नुपर्छ । नेपाल र भारतबीच टुङ्गोमा पुयाउनुपर्ने थुप्रै मामिलाहरूमध्ये सन् १९५० को सन्धिको पुनरावलोकन एउटा हो । विगतमा यस्ता विषय उठाइए पनि उपलब्धि भने शून्य नै छ । अर्काे, दुई देशको सीमा विवाद टाउको दुखाइको विषय भइरहेको छ । सीमा विवादले सीमामा ठूला दुर्घटनासमेत भएका छन् । सीमासम्बन्धी विवाद दुई देशबीच उच्चस्तरीय वार्ता गरेर टुङ्गो लगाउनु आवश्यक छ ।
भारत र बङ्गलादेशमाझ धेरै वर्षदेखि रहेको सीमा विवादको अन्त्य गत वर्ष भएको छ । अब नेपालको समस्या पनि सुल्झाउनुपर्छ । सिमानामा बारम्बार भइरहने अतिक्रमण रोक्ने र सीमा विवाद सुल्झाउने काम प्रचण्ड नेतृत्वको टोलीले गर्नु वाञ्छनीय छ । प्रत्येक प्रधानमन्त्रीको भ्रमणको समयमा अत्यन्त कम प्राथमिकतामा पर्ने गरेको अर्काे महत्वपूर्ण एजेन्डा भनेको नेपाली उत्पादनहरूले भारतमा सहज प्रवेशमा भोगेका समस्याहरू हुन् । नेपाली कृषकले ठूलो पीडा भोगिरहेका छन् । विगतमा दुई देशबीचका वाणिज्य सचिवहरूको बैठकले समेत व्यापार र वाणिज्य क्षेत्रका समस्याहरू समाधान गर्न नसकेको तीतो यथार्थ छ । अदुवा, चियापत्ती, छालालगायत अन्य वस्तुहरूको निर्यातमा भएका समस्या सुल्झाउनु नेपालका लागि श्रेयष्कर हुने छ । छिमेकीसँगको प्रगाढ सम्बन्ध आप्mनो मुलुकका समस्या नभनेर वा थाँती राखेर बन्न सक्दैन ।
दुई देशबीच रहेका र देखिएका समस्याहरूलाई स्पष्ट रूपमा राखेर, खुला छलफल गरेर एउटा निष्कर्षमा पुगी सदिऔँदेखिको सम्बन्ध प्रगाड बनाउने कुरामा दुई मत छैन । आप्mना समस्या थाँती राखेर छिमेकी मुलुकलाई गाली गरिरहनुको कुनै तुक छैन । सामान्य लाग्ने तर गम्भीर मुद्दाहरुलाई नेपालले उठान गरी सुल्झाउनतिर जानुपर्छ । यसको थालनी प्रधानमन्त्री प्रचण्डले गर्न सके उनको कार्यकाल उपलव्धिमूलक मात्र होइन, समस्यामा परेका पीडित नेपालीहरुबाट स्यावासीसमेत पाउने छन् ।