भद्रपुर/ झापामा रहेर विगत लामो समय देखि पत्रकारिता गरिरहेकी महिला पत्रकारको उपचारको लागी नगद सहयोग प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य तथा नौलो आवाज साप्ताहिक भद्रपुरकी सम्पादक शुभद्रा खड्का अधिकारीलाई उपचारको लागी सहयोग प्रदान गरिएको हो ।
महासंघ शाखा र प्रेस क्लब भद्रपुरले मंगलवार विहान भद्रपुर स्थित संगम चौकमा गएर संयुक्त रुपमा साढे २० हजार नगद सहयोग गरेको थियो । शाखा अध्यक्ष भीम नेम्वाङ्गले अस्वस्थ्य भएकी शुभद्रालाई नगद प्रदान गरेका थिए । विगत लामो समय देखि उपचारमा रहेकी खड्कालाई थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले रकम हस्तान्तरण गरिएको महासंघका सचिव एकराज गिरीले बताए । विरामी खड्का र उनका पति दिपक अधिकारीले भद्रपुरमा रहेर नौलो आवाज साप्ताहिकलाई निरन्तरता दिदै आएका छन् ।