विजयपुर/कतारको सुनसरी सिर्जनशील परिवारले धरान–१६ स्थित भगवती निमाविलाई पुस्तकालय निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गरेको छ । मङ्गलबार कार्यक्रम गरी परिवारका प्रतिनिधिहरुले विद्यालयका प्रधानाध्यापक गुणनिधि तिम्सिनालाई सहयोग रकम प्रदान गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान क्षेत्रका स्रोत व्यक्ति खेम सुवेदी प्रमुख अतिथि थिए भने विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा शिक्षक–कर्मचारीहरु पनि उपस्थित थिए । परिवारका प्रथम उपाध्यक्ष विनोद कटुवाल, नेपाल अध्यक्ष पुष्प कार्की, सल्लाहकार सन्तोष श्रेष्ठ र शेरबहादुर परियारले सहयोग रकम संयुक्त रुपमा प्रदान गरेका थिए ।
त्यस अवसरमा परिवारका प्रथम उपाध्यक्ष कटुवालले रोजगारका लागि विदेशिएका सुनसरीवासीले परदेशमै रहेर पनि समाजका लागि केही गर्न सक्छन् भनेर सहयोग गरेको बताए । परदेशमै रहे पनि आप्mनो ठाउँका लागि केही गरौँ भन्ने भावनाले सहयोग गरेको उनले जनाए । यसअघि परिवारले धरान–२७ स्थित पटनालीमा रहेको ज्वालामुखी माविका विद्यार्थीहरुलाई छात्रवृत्ति र पाठ्यसामग्री प्रदान गरेको थियो ।