१. अहिले केमा व्यस्त हुनुहुन्छ ?
दोस्रो एल्बम् किरातीको छोरो म को तयारीमा छु । अहिले गाउनेसँगै गीतमा संगीत भर्ने काममा व्यस्त छु ।
२. एल्बम्मा कतिवटा गीत राख्नुभएको छ ?
लोक, लोकपप, संस्कृतिसँग मिल्ने खालको गरी जम्मा दसवटा गीत छन् । त्यसमध्ये माझीदाइले जाल हान्यो र म छु नि त गीतलाई पहिलो प्राथमिकता दिएर एल्बम् निकाल्ने तयारीमा छु ।
३. एल्बम्का लागि कति बजेट छुट्याउनु भएको छ ?
गीत रेकर्डिङ, भिडियो र पब्लिसिटीलाई गरेर लगभग ४ लाखको हुनसक्छ ।
४. तपाईको पहिलो एल्बम्ले बजार खासै तताएन किन होला ?
संगीतक्षेत्र मरो लागि एकदमै नौलो थियो । पब्लिसिटी गर्न जानिएन, त्यसैले हिटमा आउन सकिएन । झन्–झन् खायो झन् मीठो गीतले नेपालमा नभए पनि विदेशबाट राम्रो प्रतिक्रिया पाएको थियो ।
५. एउटा एल्बम् हिट हुनुमा प्रचार–प्रसारको महत्व कति रहन्छ ?
सुनचाँदी आफैमा बहुमूल्य भए तापनि विज्ञापन गर्नुपर्छ । राम्रो सामग्री भए पनि बजारमा बिक्न प्रचार–प्रसार बिना सम्भव छैन ।
६. तपाई कुनै निःशुल्क सांगीतिक कार्यक्रममा पनि सहभागी हुनुभएको छ ?
धरानको देउरालीमा भर्खरै बालबालिकाको सहयोगार्थ एउटा सांगीतिक कार्यक्रम भएको थियो । त्यहाँबाट अहिले काठमाडौं फर्किसकेँ । बेला–बेलामा सामाजिक कामका लागि पनि निमन्त्रणा आउने गर्छ । मैले सधैँ साथ दिने गरेको छु । खोटाङ, धरान, उदयपुर लगायतका ठाउँमा अहिलेसम्म मैले ३०–३५ वटा कार्यक्रममा सेवाको भावनाले उपस्थिति जनाइसकेको छु ।
७. तपाईको मासिक खर्च सरदर कति जति पुग्छ ?
हा..हा...हा.... १५ हजारको हाराहारीमा भन्नु पर्ला ।
८. तपाईको नराम्रो बानी केही छ ?
म चाँडै अरुलाई विश्वास गर्छु । यो मेरो एकदमै नराम्रो बानी हो ।
९. ब्राण्ड कन्सियस हुनुहुन्छ ?
खासै छैन। जुत्ता र ज्याकेट चाहिँ ब्राण्डेड लगाउन रुचाउँछु । राम्रो मन प¥यो भने फुटपाथमा पनि सामान किन्न पछि पर्दिन ।
१०. प्रेममा सफल कि असफल ?
प्रेममा परेको हो, तर म असफल प्रेमी हुँ । मन परेको सुन्दर वस्तु टिप्नै पर्छ भन्ने नहुँदो रहेछ । हेरेर पनि चित्त बुझाउनु पर्ने रहेछ ।
११. संगीतमै रहेर परिवार धान्न सकिन्छ ?
आजभन्दा ४ वर्षअगाडि म सक्दिनथेँ । तर अहिले अवस्था परिवर्तन भइसकेको छ । आफूसँगै परिवारलाई संगीतमै रहेर धान्न सक्छु ।
-प्रस्तुतिः रिता लामा