काठमाडौं / मलेसिया जाँदा लाग्ने प्रक्रियागत सबै शुल्क अब सम्बन्धित रोजगारदाता कम्पनीले नै बेहोर्ने भएको छ । अघिल्लो साता काठमाडौंमा सम्पन्न नेपाल र मलेसियाका उच्चस्तरीय सरकारी प्रतिनिधिबीचको बैठकले यस्तो सहमति गरेको हो ।
हाल मलेसिया जाने नेपाली कामदारले स्वास्थ्य परीक्षण लगायतका अनेकौं नाममा झण्डै साढे १७ हजार रुपैयाँ तिर्नु परिरहेको छ । हाल वान स्टेप सेन्टर (ओएससी), इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) र माइग्राम कम्पनीमा नेपाली कामदारले अनावश्यक अतिरिक्त शुल्क तिर्नु परिरहेको छ । ती कम्पनीलाई नेपाली कामदारले १३ हजार १ सय रुपैयाँ अतिरिक्त भुक्तानी गर्दै आएका छन् । स्वास्थ्य परीक्षणका लागि बायोमेडिकल बापतको रकम भने नेपाली कामदारले नै बेहोर्नुपर्ने हुन्छ । मलेसिया जाने कामदारले हाल भिसा प्रक्रियाका नाममा राहदानी संकलनार्थ भन्दै खुलेको ओएससीका नाममा खुलेको संस्थालाई ६ हजार ७ सय रुपैयाँ र सम्बन्धित कामदार आपराधिक गतिविधिमा संलग्न भए/नभएको सम्बन्धमा जाँचबुझ गर्न भन्दै खुलेको आइएससीलाई थप ३ हजार २ सय रुपैयाँ तिर्छन् ।
त्यस्तै, मलेसिया जाने कामदारले माइग्रामलाई स्वास्थ्य परीक्षणका लागि दर्ता गरेबापत ३ हजार २ सय रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्छ । मेनपावर व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने विगत लामो समयदेखि अतिरिक्त शूल्क उठाउँदै आएका ती कम्पनीसमेतको खारेजीको माग गर्दै आएका छन् ।
मन्त्रालयका अनुसार यी शुल्क शुरुमा नेपाली कामदार स्वयंले बेहोर्नुपर्ने हुन्छ । ‘काम गर्न थालेपछि त्यसको बिल भर्पाइ सम्बन्धित कम्पनीले कामदारलाई उपलब्ध गराउने सहमति भएको छ ।
अतिरिक्त शुल्क हटाउने सम्बन्धमा सैद्धान्तिक सहमति मात्र भएको र त्यसको कार्यान्वयन हुन केही समय लाग्ने मन्त्रालय बताउँछ । सहमति कार्यान्वयनका लागि मलेसियन सरकारको दृढता र सहयोग आवश्यक रहने मन्त्रालय बताउँछ । मन्त्रालयका अनुसार नेपाली कामदारको हितका लागि नेपाल सरकारले राखेको अधिकांश विषयमा अझै पनि मलेसिया सहमत देखिएको छैन । मन्त्रालयले मलेसियामा कार्यरत नेपाली कामदारको स्वास्थ्य बीमा, चौबीस घण्टे बीमा र उचित आवास सुविधाका विषयमा पनि उक्त मुलुकका सरकारी अधिकारीसमक्ष राखेको छ । त्यस्तै, मलेसिया जाने कामदारको जाँदा आउँदा लाग्ने दुईतर्फी हवाई टिकट सम्बन्धित कम्पनीले उपलब्ध गराउने विषय पनि नेपाल सरकारले धेरै अघिदेखि राख्दै आएको छ । एकतर्फी हवाई टिकट र काम गर्ने अवधि ‘वर्किङ आवर’को बीमा उपलब्ध गराउने विषयमा भने मलेसियाले सहमति दिइसकेको मन्त्रालय बताउँछ । नेपाल वैदेशिक रोजगार संघले भने घुमाउरो तरिकाले कामदारबाट अत्यधिक शुल्क असुल्ने ओएससी, आइएससी, माइग्राम लगायतका संस्थालाई वैधानिकता दिन खोजिएको आरोप लगाएको छ । मलेसिया नेपाली कामदारको ठूलो गन्तव्य मुलुकमध्ये पर्छ । मन्त्रालयका अनुसार हाल मलेसियामा करीब पाँच लाख नेपाली कामदार कार्यरत छन् । नेपालले विगत लामो समयदेखि मलेसियासँग श्रम सम्झौता गर्ने प्रयास गरेपनि दुवैको आ–आफ्नै अडानका कारण सफल हुन सकेको छैन ।