साउदी / गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको ताबुक क्षेत्रीय समितिको तेस्रो अधिवेशनले अर्जुन थापालाई अध्यक्षमा सर्वसम्मत चुनेको छ । गत १९ फेब्रुअरीमा अल मुफ्ता रिसोर्टमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र लामा र उपाध्यक्षमा कृष्णकुमार भुजेललाई चयन गरेको छ ।
यसरी नै सचिवमा मनोज बराल, सहसचिवमा छत्रबहादुर थापा, कोषाध्यक्षमा देवीबहादुर सुतार कार्की र सहकोषाध्यक्षमा सञ्जिब पराजुलीलाई चयन भएका छन् । यादव ठटाल हिमालीलाई युवा संयोजकको जिम्मेवारी दिइएको छ भने प्रवक्तामा युवराज पोख्रेल चयन भएका छन् ।
क्षेत्रीय समितिका सदस्यहरुमा लीलाकण्ठ बराल, वीरबहादुर परियार, दिपक कार्की, राजकुमार राई र नरबहादुर खतिवडा सर्वसम्मत चयन भएका छन् ।
एनआरएनए आइसीसी वैदेशिक रोजगार तथा आप्रवासी कल्याणकारी समितिका संयोजक धरम केसीको प्रमुख आतिथ्य तथा एनसीसी साउदी अरबका अध्यक्ष नारायण पासवानको बिशेष अतिथ्यमा भएको अधिवेशनले १४ जनाको नयाँ क्षेत्रीय कमिटी गठन गरेको हो ।
कार्यक्रमको सभापतित्व आरसीसी ताबुकका निवर्तमान कार्यवाहक अध्यक्ष अर्जुन थापाले गरेका थिए । कार्यक्रममा आरसीसी ताबुकका संस्थापक भक्त हमाल, पूर्वअध्यक्ष हेमन्त बस्नेत, निवर्तमान प्रमुख सल्लाहकार बद्री बिमली लगायतका महानुभावहरू अतिथिको रूपमा उपस्थित थिए ।
ताबुक क्षेत्र वरपरका नेपाली जनसमुदायहरूको उल्लेख्य सहभागितामा सम्पन्न अधिवेशन कार्यक्रम भव्यरूपमा सम्पन्न भएको ताबुकबाट मनोज बरालले जनाए ।
विभिन्न चरणमा विभाजित कार्यक्रमलाई आरसीसी ताबुकका सचिव मनोज बरालले सञ्चालन गरेका थिए । अधिवेशनकै क्रममा श्रमिक समस्यासँग सम्बन्धी छोटो अन्तर्क्रिया कार्यक्रमसमेत भएको थियो भने त्यहाँ उत्पन्न श्रमिकहरुका समस्या तथा जिज्ञासाहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा बिशेष अतिथिहरूले सम्बोधन गरेका थिए । आरसीसी अध्यक्षबाट नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराइएको थियो ।
अधिवेशनमा प्रमुख अतिथि, विशेष अतिथि लगायतका अतिथिहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष अर्जुन थापाले आगामी वर्षभित्र सदस्य संख्या १ हजार पुर्याउने लक्ष्य सहित ताबुकको कार्यक्षेत्र भित्र पर्ने हक्कल, दुबा जस्ता ठाउँहरुमा एलसीसी गठन गर्ने भावी कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।