पछिल्लो समय धरान अशान्त बन्दै गएको छ । दैनिकजसो छुरी काण्ड हँुदैआएका छन् । लागूऔषधको उस्तै अखडा बन्दै आएको छ । केही दिनअघि १३ वर्षीय बालिकाको हत्याको विषयमा एक सातासम्म धरान अशान्त बन्यो । चटपटे व्यापारीहरुलाई छुरी देखाएर लुटपाट मच्चाउँदा व्यवसायीहरु आतङ्कित बने । एकपछि अर्को नयाँ घटना तथा अपराध गर्ने नयाँ शैली विकसित हुँदै गएको छ । तर प्रहरी प्रशासन भने पुरानै शैलीको अनुुसन्धान, पुरानै प्रकृतिको कारवाहीले अपराधीभन्दा एक कदम पछि पछ्याइरहेको अवस्था छ । निश्चय नै धरानेहरु अपराध प्रवृत्तिबाट असुरक्षित बन्दै गइरहेका छन् । प्रहरी प्रशासनले सोच अनुसारको अपराध नियन्त्रण गर्न सकेको छैन । जनशक्तिको अभाव वा प्रहरीको असक्षमता के हो, धरानमा आपराधिक घटनाका बढेका छन् । अपराधमा संलग्न केहीलाई प्रहरीले पक्राउ गर्न सफल भएपनि धेरै घटनाका दोषी फरार छन् । प्रहरीले अपराधीलाई फरारको सूचीमा राखेर कानमा तेल हालेर बस्नु अपेक्षाकृत मान्न सकिँदैन । जनताको भरोशा र विश्वास नै प्रहरी प्रशासन हो । त्यो शक्ति नै निकम्मा भयो भने सुरक्षित शहर÷गाउँ कल्पना गर्न सकिँदैन । जनताप्रति प्रहरी–प्रशासन उत्तरदायी हुनु पर्दछ । शान्ति–सुरक्षा र अमनचयनको विषयमा आलोचना खेप्दै आएको प्रहरी प्रशासन पछिल्लोपटक झन् आलोचित बन्न पुगेको छ । केही दिनअघि धरानबाट पक्राउ परेका लागूऔषध मुद्दाका एक आरोपी प्रहरी सुरक्षा घेराबाट हतकडी खोलेर आइतबार भाग्न सफल भएका छन् । प्रहरी नियन्त्रणमा रहेका आरोपी तथा अपराधीहरु पनि सुरक्षित नभएको यस घटनाले देखाएको छ । दुईजना प्रहरी जवानको सुरक्षा घेराबाट उल्टै प्रहरीलाई सरकारी वकिलको कार्यालय इनरुवाको कोठाभित्र थुनेर फरार हुनुले सुरक्षामा संलग्न प्रहरी जवानमाथि नै प्रश्न खडा गरेको छ । यो प्रहरी प्रशासनको लापरवाही हो । प्रहरीको फितलो निगरानी र कैदी–बन्दीहरुप्रति अपनाउनु पर्ने सजगता नअपनाएकै कारण अभियुक्त फरार भएका छन् । सुनसरीको प्रहरी प्रशासनले यस घटनाको मिहीन अनुसन्धान गर्नु पर्दछ । पक्राउ परेका अभियुक्तहरुले सजाय पाउँछन् भन्ने सन्देश प्रहरीले आम नागरिकलाई दिन सकेन भने प्रहरी प्रशासनको विश्वासमा खोट लाग्ने नै छ, सँगसँगै विश्वमा ‘अनुसन्धानमा अब्बल’ भनेर नाम कमाएको नेपाल प्रहरीको गरिमामा समेत आँच आउने छ ।