काठमाडौं/ झण्डै २ सय म्यानपावरले सरकारले मागे बमोजिम आफूले विदेश पठाएका कामदारको विवरण लुकाएका छन् । सरकारले ३ पटक समय दिँदा पनि २ सय म्यानपावरहरुले कामदारको विवरण पेश गर्न अटेरी गरेका हुन् ।
चैतको सुरुवातमा विदेश वैदेशिक रोजगार विभागले फ्री भिसा र टिकेटमा विदेश गएका कामदारको विवरण मागेको थियो । सुरुमा ७ दिन, पुनः ७ र तेस्रोपटक १० दिन समय दिएर विवरण मागिएको थियो ।
आइतबार विवरण बुझाउने म्याद सकिँदा ६ सय ५१ म्यानपावरले कामदारको विवरण बुझाएको विभागका महानिर्देशक विश्वराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।
अहिले विभागमा झण्डै साढे ८ सय म्यानपावर दर्ता छन् । विभागले पटक–पटक समयसीमा लम्ब्याउँदा पनि कामदारको विवरण नबुझाउने म्यानपावरको विवरण विभागले सार्वजनिक भने गरेको छैन ।
सरकारले ०७२ असार २१ गतेयता फ्री भिसामा पठाएका कामदारको विवरण म्यानपावरहरुले ७ दिनभित्रै विभागमा पठाउन भनेको थियो ।
कामदारको विवरण, देश, कम्पनी, सेवा शुल्क बापत उठाएर बैंकमा जम्मा भएको रकम, विदेशी कम्पनीले टिकटबापत दिएको रकम र हवाइ टिकट र कादार पठाएको एयरलाइन्सको सबै विवरण मागेको छ ।
सरकारले ०७२ जेठमा मलेसियासहित ६ वटा खाडी मुलुकमा जाने कामदारलाई रोजगार दाताले नै निःशुल्क भिसा र टिकट दिनुपर्ने निर्णय गरेको थियो ।