धरान/मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । उनीहरूले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार साउदीले कतारसँग आफ्ना सबै सीमा र सामुद्रिक तथा हवाई सम्पर्कसमेत बिच्छेद गरेको छ । यस्तै, संयुक्त अरब इमिरेट्सले कतारका कूटनीतिक प्रतिनिधिलाई ४८ घन्टाभित्र देश छाड्‍न आदेश दिएको छ । उसले कतार जाने आफ्नै सबै विमानसेवा स्थगन गरेको छ । साउदी अरेबियाले एउटा गोप्‍य मुद्दामा कतारले सम्प्रभुतामाथि नै खलल पु‍र्‍याएको गम्‍भीर आरोप लगाएको छ भने इजिप्टको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेको बताइएको छ । इजिप्टसहित अरब राष्ट्रका विभिन्न ६ मुलुकले आफ्ना यातायात सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या पर्ने देखिएको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्याउने गरेको छ । यसैबीच, कतारले आतंकवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै आफूमाथि लगाइएका सबै आरोपको खण्डन गरेको छ । सम्बन्धविच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्था सिर्जना गर्नु रहेको बताउँदै कतारी प्रशासनले आवश्यक पर्ने सबै उपाय अवलम्बन गरी अघि बढ्ने बताएको छ । कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षड्यन्त्रबाट अरब राष्ट्रहरूको पछिल्लो निर्णय आएको दाबी गरेको छ । यसैबीच सरकारले खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले खाडीमा रहेका नेपाली राजदूतसँग त्यहाँको पछिल्लो घटनाक्रमबारे नियमित सम्पर्कमा रहेको जानकारी दिए ।