धरान । आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठपर्वको मुख्य दिन, कार्तिक शुक्ल षष्ठी साँझ व्रतालुले कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पक्वान्नसहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक यो पर्व मनाइन्छ। यो पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन्। यो पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गर्छन्।यो पर्वमा व्रतालुले शुद्धता, सद्भाव र आस्थालाई म महत्त्व दिन्छन्। गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन्। यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ। छठपर्व मनाउनु पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ। वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्। ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको उल्लेख छ।