धरान । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै मिथिलाञ्चाल क्षेत्रको महान् पर्व छठ सम्पन्न भएको छ । व्रतालुहरूले बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा सामग्रीको सुरक्षार्थ नदी, तलाउ किनारमा रातभर जाग्राम बसेका थिए। कार्तिक शुक्ल चतुर्थीमा सुरु हुने छठ सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिन्छ। मिथिलाञ्चलका विभिन्न जिल्लाका नदी तथा तलाउमा सूर्यलाई अर्घ्य दिएका थिए । छठ पर्व भव्यताका साथ झापामा पनि मनाइएको छ । झापाको मेची, देउनिया,कनकाइ,रतुवा, विरीङ्, लगायतका नदी तथा तलाउमा गएर उदाउदै गरेको सूर्यलाइ अर्घ दिएर छठ पर्व सम्पन्न भएको हो । छठ पर्व मनाउने क्रममा नेपालको जनकपुर पछिको दोस्रो स्थान ओगटन सफल भद्रपुरको मेची नदीमा यस बर्षपनि व्रतालु तथा भक्तजनहरुको घुईचो लागेको थियो । नदीले धार परिर्वतन गरी भद्रपुर सीमासंग टासिएर नदी बग्न थालेपछि नेपाल तथा भारत दुवै देशका श्रद्धालु भक्तजनहरु एकै ठाउँमा पूजा स्थल बनाएर पूजा आराधना गरेका थिए । भारतको विहार तथा बंगाल राज्यसंग जोडिएको भद्रपुर ५ स्थित मेचीकिनार देवीबस्ती देखि भद्रपुर ४ साविक महेसपुरसम्मको लगभग २ किलोमिटर लामो क्षेत्रफलको दुवै तर्फ करिब ५ हजार बढी पूजास्थल (घाट) बनाइएको थियो । व्रतालु परिवारले नदीको पूर्व तथा पश्चिम तर्फ बनाएका पूजा स्थलमा पुजा सामाग्री राखेर पानीमा उभिएर गहुँ र चामलको पिठोले बनाएका विभिन्न प्रकारका परिकार चढाएर उदाउदै गरेको सूर्यलाई अर्घ दिएका थिए । नदीमा मधेशी समुदाय बाहेक नेपाली, मारबाडी, बंगाली, राजवंशी, मुस्लिम लगायतका समुदायले पनि छठ पर्व एक साथ मनाउदै आएका छन् । त्यस्तै नदीमा सूर्य भगवानको मुत्र्ति राखेर विशेष पूजा आर्चना गरिएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । बेलुका भन्दा विहानको समयमा भक्तजनहरुको बढी भिडभाड भएकोेले भन्सारगेट देखि मेची नदीमा विजुली वत्ती जडान गरिएर व्यवस्थित बनाइएको अध्यक्ष झाले जानकारी दिए । भक्तजनहरुको सेवासुविधालाई मध्यनजर गर्दै प्रत्येक बर्ष झै यसबर्ष पनि नेत्र ज्योजि समाज भद्रपुरले निशुल्क चिया तथा पानी वितरण गरेको थियो । हजारौ संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता हुने भद्रपुरको छठ पर्वमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । नेपाल तथा भारत दुवै देशका सुरक्षाकर्मी नदीमा परिचालित भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । छठ पर्वलाइ ध्यानमा राखेर निर्माण गरिएको अस्थायी बाँसे पुलले मान्छेको भार थेग्न नसकेर भाचिएको थियो । अस्ताउदै गरेको सूर्यलाइ अघ्र्य दिएर विहीवार साँझ घर फर्किने क्रममा पुलमाथि दाहोरो भिड भएपछि पुलको पुर्वतर्फको भाग पानीमा दवेका कारण पुलमा सवार मानिसहरु नदीमा लडेका थिए । भत्किएको क्षेत्रमा पानी कम भएका कारण कुनै मानविय क्षति भने नभएको पाइएको छ । पुल भत्किएपछि पुलमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी लगायतले उद्धार गरेका थिए । कतिपय मानिसहरु नदीवाटनै आवतजावत गरेका थिए । पर्वलाइ मध्यनजर गर्दै भद्रपुर नगरपालिका कार्यालय र मैथिल समाजकै पहलमा हरेक बर्ष नदीमा बाँसे पूल बनाउने गरेको छ । बाँसे पूलकै सहयोगले ब्रतालु भक्तजनहरु पूजा सामग्री लैजान र नदीको दुवै किनारका घाट पुग्न सहज हुने गरेको छ । यसबर्ष नगरपालिकाले बाँसे पुल बनाउन करिब डेढ लाख बजेट छुटाएको थियो । पुलको लम्बाइ १ सय ५० फिट लामो रहेको छ । पुल नभए छठ पर्व खल्लो हुने गरेकोकोले दुवै देशका भक्तजनहरुको आवतजावतलाई मध्यनजर गर्दै विगत एक दशकदेखि छठ पर्वलाई लक्षित गरी नदीमा बाँसे पूल बनाउन थालिएको जनाइएको छ । दक्ष प्राविधिक भएपनि नगरपालिका र आयोजक समितिले गुणस्तरहिन पुल निर्माण गरेका कारण पुल धसिएको सवार मानिसले आरोप लगाएका छन् । पुल नदीमा धसिएको मात्र हो कुनै मानविय तथा भौतिक क्षति नभएको मैथिल समाज भद्रपुर तथा आयोजक समितिका अध्यक्ष झाले बताए ।विगतका वर्षहरु भन्दा यो वर्ष बाँसे पुल लापारवाही तरिकाले निर्माण गरेकोमा अधिकांश मानिस रुष्ट देखिएका थिए ।