बिर्तामोड। झापाको बिर्तामोडमा प्रदर्शनकारी र प्रहरी बिच झड्प जारी छ । झड्पमा प्रदर्शनकारी र प्रहरी पक्ष दुवै तर्फ गरी दर्जनौ घाईते भएका् । घाईतेहरुको नाम खुलेको छैन ।
घाइतेहरुको बिर्तामोडका अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ । बिर्तामोडको पूर्व पश्चिम राजमार्ग अन्तरगतको मुक्ति चोक, भद्रपुररोड र शनिश्चरेरोड अहिले पनि तनावग्रस्त छ । बिर्तामोड तनावग्रस्त बनेपछि राजमार्ग तथा सहायक राजमार्गमा चल्ने सवारीसाधन ठप्प बनेको छ । स्थिती नियन्त्रणमा लिन अहिले सम्म दुवै पक्षबाट कुनै प्रयास नभएपछि घटनास्थल तातिदै गएको छ । प्रहरीले घटनास्थलमा दर्जनौ पटक आश्रुग्यास र हवाई फाइरिङ्ग गरिसकेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्दै प्रहरी दमनको विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीले ठांउ–ठाँउमा टायर बालेका छन् । यो क्रम अझै पनि जारी रहेको घटनास्थलमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको विरोध माथि शनिश्चरे रोडमा प्रहरीले शुक्रवार विहान दमन गरेको थियो । सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रमा गर्ने क्रममा प्रहरीले दमन गरेपछि घटनाले उग्र रुप लिएको हो । यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीसंग सम्पर्क हुनसकेन । गत असोज १४ गते सुरेश पोखरेलको घरमा गएका बालक शिवाकोटी १५ गते बिर्तामोड–१ स्थित ठाकुर मन्दिर नजिकै बैंशावाडीको भौडीमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए ।
यसैबीच मृतकका परिवार र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै सीता पाण्डेको संयोजनमा २७ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।