भद्रपुर । झापाको बिर्तामोड आसपासको क्षेत्रमा सञ्चालित होटल तथा लजमा यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा दश जना यौनकर्मीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । होटल तथा लजमा अनैतिक क्रियाकलाप गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । आठ जना युवती र दुई जना युवक रहेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिएका मध्ये सात जना युवतीलाई सार्वजनिक मुद्दा चलाइएको वस्नेतले बताए । नियन्त्रण लिएका युवतीहरुलाई होटल सञ्चालकले बोलाएर परपुरुषसँग अनैतिक क्रियाकलापमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकांश युवती जिल्ला बाहिरबाट आउने गरेको अनुसन्धानबाट खुलेको बस्नेतले बताए । राज्यले यौनजन्य क्रियाकलाप गर्ने वा गराउने माथि ठोस कानुन नल्याउने प्रहरीलाई यस्ता विकृती नियन्त्रण गर्न समस्या परेको उनको भनाई छ ।