शनिश्चरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनपछि वाम गठवन्धनको सरकार बन्ने र पार्टी एकीकरण हुने कुरा वताएका छन् । ओलीले देशव्यापी रुपमा एमाले र माओवादी केन्द्रको चुनावी गठवन्धनको औचित्य प्रष्ट्याउने कार्यक्रमका शिलशिलामा आइतबार मोरङको विराटचोकमा आयोजित गठवन्धनको चुनावी आमसभामा बोल्दै सो कुरा बताएका हुन् ।

कार्यक्रममा उत्साहपूर्वक रुपमा ठूलो संख्यामा उपस्थित जनतामाझ उनले भने ‘वाम गठवन्धनको एकतालाई कसैले रोक्न सक्दैन । पार्टी एकता भयो भयो ।’ उनले संविधानमा उल्लेख गरिएका हक अधिकारलाई समुचित रुपमा कार्यान्वयन गरी मुलुकको चौतर्फी समृद्धिका लागि वाम गठवन्धनको जिम्मेवारी आएको उल्लेख गरेका छन् । साथै मोरङमा अव्यवस्थित अवस्थाको पूर्वाञ्चल विश्वविद्यालयको सुधार लगायतका स्थानीय विकासका सम्भावनका कुरा समेत उनले जोडेका छन् । ओलीले कुनै उम्मेदवार यस ठाउँका लागि नयाँ हो भन्ने कुरा गर्दै आफुले भनें चकटेले झैं अस्पतालका नाममा निशुल्क उपचारको सस्तो कुरा गर्दै हिँड्नाले जनताको समग्र हित हुन नसक्ने भन्दै कांग्रेस उम्मेदवारप्रति  टिप्पणी गरेका छन् । सो अवसरमा माओवादी केन्द्रका तर्फबाट नेता राम कार्कीले वाम गठवन्धनको यो अवसरले नेपाललाई समाजवादको नयाँ मोडेल दिन सक्ने वताए । साथै उनले नेपाली कांग्रेससँग अव कहिल्यै पनि राजनीतिक विश्वास गरेर नजिक नहुने समेत उल्लेख गरेका छन् । कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य एवम् मोरङ ३ का प्रतिनिधिसभा उम्मेदवार भानुभक्त ढकालले आफ्नो क्षेत्रमा आदिवासी सांस्कृति संग्रहालय निर्माण, सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान लगायतका महत्वपूर्ण काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेशसभा क की माओवादी केन्द्रकी उम्मेदवार गीता तिम्सिनाले आफु जिल्लाको १८ क्षेत्रका लागि एकमात्र प्रत्यक्षतर्फको उम्मेदवार भएको भन्दै महिला हक अधिकारका लागि आफु अझ प्रतिवद्ध भएको जनाइन् । कार्यक्रमा प्रसिद्ध लोकगायिक कोमल ओली, वद्री पंगेनी लगायतका कलाकारहरुले पनि मन्तव्य सहित प्रस्तुति दिएका छन् । अन्य पार्टी परित्याग गरी नेतृत्व तहकै सयौं कार्यकता वाम गठवन्धनमा प्रवेश समेत गरका छन् । नवप्रवेशी नयाँशक्ति पार्टीबाट केन्द्रीय सदस्य प्रतापकुमार थापा, रत्ननिधि रेग्मी, दुर्गाप्रसाद राई, नेपाली कांग्रेसका ललित प्रसाई, सदानन्द यादव लगायतलाई प्रमुख अतिथि ओलीले टीका लगाइदिएका छन् । नयाँशक्ति पार्टीका अगुवामध्येमा पर्ने पुराना वामपन्थी नरेन्द्र वस्नेतले समेत वाम गठवन्धनलाई सघाउने उद्घोष गर्दै चाँडै पार्टी प्रवेश गर्ने  जनाए । कार्यक्रममा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालका छोरा पार्टीका केन्द्रीय सदस्य प्रकाश दहालको असमायिक निधनप्रति शोक व्यक्त गरिएको थियो ।