शनिश्चरे/ वाम गठवन्धन पक्षधर युवाहरुसँग भएको झगडाको विषयलाई लिएर नेपाली कांग्रेस पार्टी पक्षधरले मोरङको पथरीशनिश्चरे १ स्थित पथरी चोकमा आइतबार यातायात अवरुद्ध गरेका छन् ।

प्रहरी प्रशासन विरुद्ध समेत नारावाजी गर्दै कांग्रेसको झण्डा बोकेका युवाहरुले  विहान ११ बजेदेखि जाँते मोडमा यातायात अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।

शनिबार राती पथरी उद्योग वाणिज्य संघका अध्यक्ष नेपाली कांग्रेस पक्षधर धनकुमार तामाङ र वाम गठवन्धनको चुनावी सभाका लागि मञ्च बनाएर घर फर्किदै गरेका पर्वे भनिने भीम रसाइलीसहितका ३ जनासँग बादविवाद भई कुटाकुट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । राती सवा ८ बजेको समयमा बजारको माछा लाइनमा भएको झगडापछि दुवै पक्षबीच सामुहिक झडप हुनलाग्दा तत्काल प्रहरीले भीम रसाइलीलाई पक्राउ गरेको थियो । सो घटनापछि धनकुमार तामाङकी श्रीमती सुशीलाले रसाइली विरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् ।

यता, रसाइलीकी आमा मोतिमायाले धनकुमार पक्षधर पुष्प लामाहरु सहित राती आफ्नो घरमा आई ज्यान मार्ने धम्कि दिएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले धनकुमार र कांग्रेसका युवा नेता केशव दुलाल समेतको विरुद्ध उजुरी गरेकी छन् ।

उता, धनकुमारसँग टसल रहेका १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देनले युवाहरु पठाएर झगडा गराएको भन्दै बाबुरामको विरुद्ध समेत गालीगलौच भएको स्थानीयले बताएका छन् । बाबुरामले भनें आफु घरमा नभएको बेला अरुले झगडा गर्दै आफ्नो नाम मुछेर गाजीगलौच समेत गरेकोमा खेद व्यक्त गरेका छन् । मादकपदार्थ सेवन गरेका दुवै पक्षबीच बढ्दै गएको सामुहिक झडपलाई प्रहरीले नियन्त्रणमा लिन हम्मे हम्मे नै परेको स्थानीयले जनाए ।