इलाम । जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भिन्नाभिन्नै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा होमिएकाले इलाम यतिबेला राष्ट्रिय चर्चामा छ । इलामको निर्वाचन क्षेत्र नं १ बाट पूर्वप्रधानन्त्री तथा एमालेका बरिष्ठ नेता खनाल प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् । खनालका प्रतिस्पर्धी कांग्रेसका भूपेन्द्र कट्टेल छन् । पूर्वप्रधानमन्त्री खनालको यो उम्मेद्वारी छैटौंपटक हो भने कट्टेलको यो पहिलो उम्मेद्वारी हो । क्षेत्र नम्बर २ बाट सुवास नेम्वाङ वाम गठबन्धनका उम्मेदवार छन् । उनका प्रतिस्पर्धी कांग्रेस नेता केशव थापा छन् । नेम्वाङ र थापाको दोस्रोपटक चुनावी भेट भएको छ । थापा ०६४ को संविधानसभा निर्वाचनमा नेम्वाङसँग पराजित भएका थिए । पूर्ववडासदस्यसँग पूर्वप्रधानमन्त्री खनाल क्षेत्र नं. १ मा पूर्वप्रधानमन्त्री खनालसँग यसअघि चार पटकको जीतको मीठो अनुभव र एकपटकको हारको तिक्तता छ । खनालले ०४८ र ०५१ कोे संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तोयानाथ भट्टराईलाई हराएका थिए । एमाले नेता खनाललाई ०५६ मा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले हराएका थिए । ०६४ सालको संविधानसभा निर्वाचनमा अघिल्लोपटक आफूलाई हराउने प्रसाईंलाई खनालले बदला लिन भ्याएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यलाई हराउँदै झलनाथले एकै क्षेत्रबाट चौथो पटक जीत सुरक्षित गरे । यसपालि पहिलोपटक झलनाथ खनालसँग चुनावी प्रतिस्पर्धामा उत्रेका कांग्रेस नेता भूपेन्द्र कट्टेल ०५४ सालको स्थानीय चुनावमा फिक्कल-८ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनी यसपटक हेभीवेट नेता खनाललाई हराएर राष्ट्रिय राजनीतिमा चर्चा बटुल्ने आशामा छन् । पूर्वप्रधानमन्त्री खनाल र पूर्ववडा सदस्य कट्टेल दुवैले जीत आफ्नो पोल्टामा रहेको दाबी गरिरहेका छन् । कांग्रेस नेता कट्टेल आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् । आफू जहिल्यै जनतासँगै रहेर विकासको निम्ति पुलको काम गरेकाले आफूलाई मतदाताले रुचाउने उनको दाबी छ । आफ्नो प्रतिद्वन्द्वी खनालले यस क्षेत्रमा पटक-पटक जितेर पनि खासै काम गर्न नसकेकाले मतदाताहरुले नयाँ अनुहारसहित आफूलाई रोज्ने उनी बताउँछन् । खनालले पनि आफूलाई चुनाव जित्न विगतमा भन्दा सहज रहेको दाबी गरिरहेका छन् । आफूले यस क्षेत्रबाट पटक-पटक निर्वाचन जित्दै आएकाले यसपालि पनि जित दोहोरिनेमा ढुक्क छन् । खनाल भन्छन्, ‘यो क्षेत्रमा मैले काम धेरै गरेको छु । त्यसैले सबैै दलमा आस्था राख्नेहरुले मत दिएर मलाई नै जिताउँछन् ।’ पहिले एमाले एक्लै चुनाव लड्दा समेत धेरैचोटि जितेको र अहिले बाम गठबन्धनको मतले अझ सहजरुपमा जित्ने खनालको दाबी छ ।