मेचीदेखि महाकालीसम्म चुनावी दौडाहामा हिँड्दा बाम गठबन्धनप्रति आम जनताको अपेक्षा कस्तो पाउनु भयो ? असाधारण उत्साह छ । असाधारण विश्वास छ । असाधारण आशा अनि अपेक्षा । यो सबै जायज छ । सकारण अपेक्षा छ । यसले गर्न सक्छ भनेर न अपेक्षा गर्ने हो, नत्र किन गर्ने ? एमालेमाथि नीति र व्यवहारका कारणले भरपर्दो विश्वास जनस्तरमा छ । एमाले र माओबादी केन्द्रले पार्टी एकीकरण हुने र सहमतिका साथ जाने जुन बाटो समातेको छ, आम मान्छेहरुलाई यसले ठूलो आश्वस्त पारेको छ ।
अब माओबादी कुनै गलत नीतिमा जाँदैन, गलत व्यवहारमा जाँदैन किनभने उ एमालेको साथमा छ भन्ने विश्वास जागेको छ । त्यसमा मान्छे हर्षित छन्, ढुक्क छन् । एमाले आफै पनि अरुहरुले मोर्चा कस्दा स्थानीय तहको चुनावमा एक्लै लडेर प्रमुख हैसियत बनाएकै थियो । त्यस ठाउँमा अब माओबादी समेत भए पछि, देशभक्त शक्तिहरु एक हुने भए र राष्ट्रिय शक्ति अझ मजबुत हुने भयो भन्ने जनविश्वासको लहर आएको छ । आम जनता यसबाट खुशी भएका छन् ।
म जहाँ जहाँ बोल्न गएँ, मास रेस्पोन्स हेरेको छु, जनताले मैले गरेका भाषणहरुमा अन्तरक्रियात्मक सहभागिता जनाएका छन् । जनता ताली बजाएर, ह्वीसेल गरेर र हुटिङ गरेर रमाइरहेको पाएको छु ।
– बाम गठबन्धनको जित दुई तिहाइको आसपास हुनु पर्छ ।
– अरुका क्यान्डिडेट हामीले चिनिरहनु परेको छैन ।
– अरु कसैले सरकार तोक्ने कि नेपाली जनताले तोक्ने ?
– बुढाहरुलाई भिडाउन पाए हुन्थ्यो भन्ने लागेको छ केही मान्छेहरुलाई ।
– अब हामीले के चाहियो भन्ने ? सर्वोच्च कार्यकारी ठाउँहरुमा हामी पुगिसक्यौँ ।
– अब माओबादी गलत नीतिमा जाँदैन, किनभने उ एमालेको साथमा छ ।
– चीनको राजदुत यसको र उसको पक्ष भन्दै रगरग कुदेको मैले देखेको छैन ।
अब बन्ने सरकार कसको र कस्तो हुने छ ? तपाइँको दावी ? यो पनि अब भनिरहन पर्छ होला र ! सारा दुनियाँलाई थाहा भइसकेको छ कि अब बन्ने सरकार एमालेको नेतृत्वमा, बामपन्थी नीति र प्रभाव भएको मूलतः बामपन्थी सरकार हुने छ ।
जसभित्र प्रगतिशील शक्तिहरु, देशभक्त शक्तिहरु, राष्ट्रिय एकताका पक्षधर शक्तिहरु, सामाजिक न्याय र समानताका पक्षधर शक्तिहरु, एकछिनको स्वार्थका लागि साम्प्रदायिक राजनीति नगर्ने, द्वन्द्वतर्फ देशलाई धकेल्न नखोज्ने, शान्ति र स्थायित्वका पक्षधर शक्तिहरु, देशको राजनीतिलाई सुस्थिर, लोकतान्त्रिक, राष्ट्रिय भावधारामा अगाडि बढाउने, राष्ट्रिय मनोबल, आत्मविश्वास र गौरवबोध गर्ने र विकासतर्फ उन्मुख र केन्द्रित, विकासको विषयलाई मुख्य एजेन्डा बनाउने शक्तिहरु हुने छन् । अब बन्ने सरकार, जसको अग्रभागमा एमाले र माओबादी केन्द्र हुन्छ ।
चुनावी परिणामको अङ्क गणितीय विश्लेषण कसरी गरिरहनु भएको छ ? मैले अहिले राजनीतिक अभियान मात्र चलाइरहेको छु, अङ्कगणितीय हिसाब धेरै गरेको छैन । निर्वाचन आयोगले पछि मत गनेर निकाल्ला त्यो । म धेरै हतार पनि गर्दिन । बाम गठबन्धनको जित दुई तिहाईको आसपास हुनु पर्छ भन्ने अनुमान छ । सारा दुनिया चकित हुने गरी कमरेड केपी र कमरेड प्रचण्ड एउटै गठबन्धनमा आउने माहोल अचानक कसरी बन्यो होला ? यसमा म अगाडिदेखि प्रयासरत थिएँ । प्रचण्डजी पनि त्यसमा प्रयत्नरत नै हुनुहुन्थ्यो । हामीहरु अब आपसमा लड्ने र अरुले फाइदा लिने, हामी जिम्मेवार हुन नसक्ने, अरुले हामीलाई लडाउने र लाभ लिने, हामीलाई नोक्सान व्यहोराउने प्रकारका कुराहरुबाट होशियार हुनु पर्छ र एकतामा जानु पर्छ भन्ने कुरा राख्दाखेरि उहाँ (प्रचण्ड) पनि सहमत हुनु भयो ।जहाँसम्म यो अचानक, अप्रत्यासित भन्ने कुरा आयो । हामीले कसैलाई सूचना दिनु पर्दैन थियो । किनभने, बिगार्ने तत्वहरु थुप्रै हुन्छन् । त्यसकारण हामीले सूचना कसैलाई दिएनौँ । हामीले गोप्य राखेरै चर्चा गरिरह्यौँ । १६ गते बेलुका माओबादी केन्द्रको बैठक बसेपछि, १५ गते विहान एमालेको बैठक बसेपछि अलिकति खुल्ला खुल्ला जस्तो लक्षण देखा पर्यो, असावधानी भयो त्यहाँ ।
त्यसकारण हामीले १७ गते विहानै बैठक बसेर ५ बजे हामीले अहिलेलाई चुनावी तालमेल गरेर अघि बढ्ने र चुनाव लगत्तै पार्टी एकीकरण गर्ने घोषणा गर्यौँ । अरुका लािग त अप्रत्यासित नै भयो होला, तर हाम्रा लागि त अप्रत्यासित होइन । तसर्थ, यो सम्भव भयो । यसका लागि प्रचण्डजीको लचकता र उहाँको परिस्थितिबोध गर्ने कुरामा धन्यबाद भन्न चाहन्छु । उहाँ नमानेको भए त हुँदैनथ्यो, कुरै सिद्धिन्थ्यो । उहाँ मान्नु भयो, त्यसैकारण यो सफल भयो । तपाइँलाई जनताले फेरि एकपटक प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको देखिन्छ । यदि त्यसो हो भने पार्टी एकीकरण पछाडि कमरेड प्रचण्ड लगायतका नेताहरुको व्यवस्थापन कसरी हुन्छ होला ? तपाइँहरुलाई के बताउँ भने मैले र प्रचण्डजीले अहिले वैयक्तिक स्वार्थ र व्यवस्थापन भन्दा अलिक माथि उठ्ने विचार गरेका छौँ । प्रचण्डजी पार्टी प्रमुख त धेरै बर्ष हुनु भयो, पार्टी प्रमुख उहाँलाई नयाँ कुरा होइन । पार्टी प्रमुख भएर चलाउँदा तीतो, अमिलो, गुलियो कस्तो हुन्छ भन्ने एउटा टेस्ट गरिहेरौ न भन्ने छैन उहाँलाई । प्रधानमन्त्री दुई दुई पटक भइसक्नु भयो । प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर कस्तो हुन्छ होला भन्ने पनि उहाँलाई छैन । त्यो पनि भइसक्नु भयो ।
पहिलो तहका नेताहरु एउटा इतिहासबाट आएका छन्, प्रधानमन्त्रीको भन्दा कुनै कम सम्मानका नेताहरु छैनन् । प्रचण्डजी प्रधानमन्त्री भए पनि नभए पनि प्रधानमन्त्री भन्दा कम सम्मान उहाँको छ र ! माधव नेपाल, झलनाथजी प्रधानमन्त्री भए पनि नभए पनि कम सम्मान छ र ! सुवास नेम्वाङजी प्रधानमन्त्री नभए पनि कम सम्मान त छैन । त्यसो भएकाले हामीले पदलाई ध्यान दिने हाम्रो व्यवस्थापन होइन, गरीवहरुको व्यवस्थापन गर्नु पर्छ अब ।
छाप्रा नभएकाहरुलाई बस्ने घरको व्यवस्थापन, पढ्न नपाएकाहरुलाई पढ्ने व्यवस्थापन, रोजगारी नपाएका युवाहरुको रोजगारीको व्यवस्थापन, त्यता पो सोच्नु पर्यो अब । मैले पाउनु पर्छ, मैले के पाएँ, मलाई कुन ठाउँ भन्ने कुरामा हामी जानु हुँदैन । प्रचण्डजीले पनि मसँग कुरा हुँदा यसलाई मान्नु भएको छ । अब हामीले के चाहियो भन्ने ? सर्वोच्च कार्यकारी ठाउँहरुमा हामी पुगिसक्यौँ । पार्टी प्रमुख पनि भइसक्यौँ । अहिले पनि उहाँ पार्टी प्रमुख हुँदै हुनुहुन्छ ।
अध्यक्ष नै चाहियो भनिदेखि त उहाँले पनि एकता नगरी अध्यक्ष हुँदै हुनुहुन्छ, म पनि अध्यक्ष छँदै छु । अध्यक्ष नै चाहिएको भए एकता नगरे सिद्धिगयो नि ! हामीलाई मजबुत पार्टी चाहिएको कि आफुलाई अध्यक्ष ? कतिपयले कमरेड ओली र कमरेड प्रचण्डबिच नेतृत्वको टकराव सुरु भइहाल्छ भन्ने अनुमान गरेका छन् नि । त्यस्तो नहोला भन्ने के ग्यारेन्टी छ ? नीतिको प्रश्न गर्न सकिन्छ, व्यक्तिको होइन । जनताको बहुदलीय जनबादले अङ्गीकार गरेको दृष्टिकोण र नीतिहरु व्यवहारमा सही सावित भएका छन् । राष्ट्रियता सम्बन्धी प्रश्न, लोकतन्त्र सम्बन्धी प्रश्न, सामाजिक न्याय र समानता सम्बन्धी प्रश्न, सामाजिक सद्भाव र राष्ट्रिय एकता सम्बन्धी प्रश्न, छिमेक सम्बन्ध लगायतका अनेकन प्रश्नहरुमा भुलचुक नगरी परिपक्व, अनुभवमा आधारित जनताको बहुदलीय जनवादका नीतिहरु प्रमाणित रुपमा सही छन् । अलिकति सही र अलिकति गलत मिसाउ भन्ने होइन ।
एकतालाई सही कुरा पनि अलिकति छोड्नु पर्छ भन्ने होइन । प्रचण्डजीलाई सोध्नुहोस् । हामी आफ्नो व्यवस्थापन होइन, देशको व्यवस्थापन खोज्दै छौँ । खान नपाउनेहरुको व्यवस्थापन खोज्दै छौँ, छाप्राहरुको व्यवस्थापन खोज्दै छौँ । स्कुल, कलेज र विश्वविद्यालयहरु, अस्पतालहरु, मेडिकल कलेजहरुको व्यवस्थापन खोज्दै छौँ । बुढेशकालमा यी बुढाहरुलाई लडाउन पाए हुन्थ्यो, भिडाउन पाए हुन्थ्यो भन्ने लागेको छ केही मान्छेहरुलाई । धेरै व्यवस्थापनका हल्ला तपाइँहरुलाई पनि सुनाइदिएका रहेछन् । यो चुनावभरि हो, केपी ओली र प्रचण्ड फेरि अध्यक्षमा लड्छन्, प्रधानमन्त्रीमा भिड्छन्, मारामार हुन्छ भन्ने हल्ला चलाइदिएका छन् । त्यस्तो होइन, त्यस्तो अब हुँदैन ।
त्यस्तो के गर्छु त मैले ? प्रधानमन्त्री मै हुन्छु, गृहमन्त्री मै हुन्छु, परराष्ट्रमन्त्री मै हुन्छु र ! शेरबहादुर जस्तै गर्छु कि क्या हो मैले । सबै आफै हुने । अध्यक्ष पनि मै, उपाध्यक्ष पनि मै हुन्छु क्या हो । सबैको व्यवस्थापन हुन्छ । जुन हल्ला चलाएका छन् नि आसनग्रहणवाला । तपाइँले सोधेको प्रश्नभित्र आसनग्रहणवाला आशय छ । काम सम्पादनवाला व्यवस्थापनको कुरा हाम्रो रुचिको विषय हो । चुनावमा ‘म्याच फिक्सिङ’ गरेको आरोप तपाइँँलाई लगाइएको छ, के भन्नु हुन्छ ? बिकाउवाला तत्वहरुले चलाएको हल्ला हो यो । हामी जे भन्छौँ, त्यो गर्छौँ । जे गर्न पर्ने छ, त्यही भन्छौँ । एउटा भन्ने, अर्को गर्र्दैनौँ । खेल मैदानमा एउटा हुल्ने, अनि भित्रबाट म्याच फिक्सिङ गर्ने, यस प्रकारका घटिया कामहरु नेकपा एमालेले गर्दैन, नेकपा एमालेको अध्यक्षले गर्दैन । केपी ओलीको वैयक्तिक तवरमा त्यो स्वभाव छैन । त्यस्तो गर्दैन । झुठ बोल्न आउँदैन । बेइमानी गर्न आउँदैन । अन्डरहेन्ड खेल खेल्न आउँदैन । र, त्यो खेल्ने कुरा रुचाउँदैन ।
नेकपा एमालेको त्यो नीति होइन । हामीले झापामा राप्रपासँग पनि तालमेल गरेका छौँ । हाम्रो कार्यकर्तालाई, हाम्रा शुभचिन्तक शुभेच्छुक मतदाताहरुलाई गाईमा पनि भोट हाल्न भनेका छौँ । गाईमा भोट हाल्न खुलेआम भनेका छौँ झापामा । झापाको क्षेत्र नं. ३ मा राप्रपाका एक जना नेता राजेन्द्र लिङ्देन उम्मेद्वार हुनुहुन्छ, हामीले समर्थन गरेका छौँ । त्यहाँ जिताउनका लागि गाईमा भोट हाल्नु पर्छ भनेका छौँ । क्षेत्र नं. १ मा माओबादी केन्द्रका नेता हुनुहुन्छ राम कार्की ।
गोलाकारभित्र हसिया हथौडामा भोट हाल्नुस् हामीले भनेका छौँ । माओबादीहरुसँग अरु ठाउँहरुमा पनि तालमेल छ, हामीले तालमेल गरेका अरु ठाउँहरुमा पनि प्रस्ट कुरा छ, सूर्य चिह्नको उम्मेद्वार भए सूर्यमा र गोलाकार भित्र हसिया हथौडाको उम्मेद्वार भएमा गोलाकारभित्रको हसिया हथौडामा भोट हाल्ने हो, जिताउने हो ।
जे गर्ने हो भनेरै गछौँ, एक थोक भन्ने अर्को थोक गर्ने काम हामीबाट हुँदैन । त्यस्तो अविश्वसनीय, धोकेबाज, बेइमान काम एमालेले गर्दैन । एमाले त्यस्तो पार्टी होइन ।
भनेपछि झापा क्षेत्र नं. ३ मा सिटौला र लिङ्देनमध्ये लिङ्देनलाई नै जान्छ हैन त एमालेको भोट ? हामीले त सम्झौता गरेर राजेन्द्र लिङ्देनलाई हाम्रो समेत क्यान्डिडेट बनाएर उठाएका छौँ । यो त प्रश्नै गरिरहनु पर्ने विषय होइन । अरु क्यान्डिडेट हामीलाई मतलब छैन ।हामी अरु क्यान्डिडेट जान्दैनौँ । अरु क्यान्डिडेट हामीले चिनिरहनु परेको छैन । यसै क्षेत्रमा (झापा ५) पनि कतिवटा क्यान्डिडेट छन् मलाई थाहा छैन । मलाई अहिले यहाँ ३ वटा पार्टी मिलेका छन्, तिनवटा पार्टीका कार्यकर्तालाई, मतदातालाई, जनतालाई अरु किन क्यान्डिडेट चाहियो ? प्रतिनिधिसभामा म उठ्या छु, प्रदेश सभामा एमालेका साथीहरु उठ्याछन् । झापा ५ मा सबैले सूर्य चिह्नमा मत हाल्छन् ।
तपाइँको नेतृत्वमा नेपाली जनताले भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गरेको सर्वविदितै छ । नेपालमा बाम गठबन्धनको सरकार भयो भने भारतको कस्तो भूमिकाको अपेक्षा गर्नु भएको छ ? प्रतिनिधिसभा र प्रदेश सभा जस्तो अत्यन्त महत्वपूर्ण आम निर्वाचन एकैचोटी भइरहेको अवस्थामा हामी छौँ । यो धेरै महत्वपूर्ण छ र यो हाम्रो आन्तरिक निर्वाचन हो ।यसमा अरु कोही छिमेकी मित्रहरुको बारेमा चर्चा गरिरहनु नपर्ने हो । हामीले आफ्नो चर्चा गर्नु पर्ने हो । तर, हामीसँग जो प्रतिष्पर्धा गछौँ भनिरहेका छन्, लोकतान्त्रिक अभ्यास र प्रतिष्पर्धा गरिरहेका छैनन् । उनीहरु छिमेकीलाई समेत जोडेर नचाहिँदा भ्रम फिजाइरहेका छन् । त्यसकारण तपाइँले सोधेको यो प्रश्न सान्दर्भिक र सामयिक हुन गएको छ । चुनावपछि बाम गठबन्धनले सरकार गठन गरे पछि सम्बन्ध बिग्रन्छ भनेर भ्रम फैलाइरहेका छन् ।२०४८ र २०५१ को निर्वाचनका बेला पनि यस्तो भ्रम धेरै फैलाइएको थियो । कम्युनिस्ट सरकार बन्यो भने नुनतेल बन्द हुन्छ भनेको तपाइँहरुले पनि सुन्नु भयो होला ।
नुनतेल बन्द हुन्छ, नाकाबन्दी हुन्छ, भारतले केही पनि दिदैन र यहाँ हाहाकार हुन्छ, मरिन्छ भनेर मान्छे नुनै खानै पाइँदैन भने के गर्ने भनेर २०४८ मा मान्छेहरुले झुक्किएर काङ्ग्रेसलाई भोट हालेर बहुमत दिए । २०५१ मा त्यो होइन कि क्या हो भनेर काङ्ग्रेसको बहुमत हट्यो । हामी प्रमुख पार्टीको रुपमा आयौँ । हामीले सरकार बनायौँ ।
त्यो कुरा फेरि उठाइँदैछ । काङ्ग्रेसको नेतृत्वमा सरकार थियो र नाकाबन्दी त्यतिबेला लागेको थियो । म प्रधानमन्त्री हुँदा ३ हप्तादेखि नाकाबन्दी थियो । दुई महिनादेखि तराइ मधेस बन्द थियो । म प्रधानमन्त्री भएपछि त्यसलाई खुलाइयो । नाकाबन्दी खुल्यो । केपी ओलीले भारतसँगको सम्बन्ध बिगार्यो भन्ने हल्ला चलाए । नाकाबन्दी त उनीहरुले लगाएको थियो, उनीहरुले लगाएको खोल्न अलिकति समय लाग्यो ।
उनीहरुले बानी पारेको लत्रिएर खुल्ने खुलाउने थियो । नलत्रिकन खुल्ने खुलाउने कुरालाई अलिकति समय लाग्यो । यो प्रश्न तपाइँले हल्ला सुनेर गरिरहनु भएको छ । भारत असल छिमेकी बन्न नसकेको तीतो यथार्थ त पटक पटक नेपाली जनताले भोगिरहेका छन् नि । त्यति सजिलै उसको व्यवहार बदलिएला त ? नेपाल र भारत दुुई निकटका, सीमाना समेत खुल्ला रहेका छिमेकी, दुई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका हैसियतले एक अर्काको सार्वभौमसत्तालाई, अखण्डतालाई र स्वाधीनतालाई सम्मान गर्दछन् र गर्नु पर्दछ ।
ती छिमेकी जसको सहमति र सन्धी सम्झौता पनि छ । १९५० को सन्धीको धारा १ ले हाम्रा दुई देश एक अर्काको सार्वभौमसत्ता र स्वाधीनता, भौगोलिक अखण्डतालाई पूर्ण रुपमा सम्मान गर्दछन् भन्ने कुरा स्पष्ट शब्दमा भनेको छ । त्यसका प्रोटोकलले अझ बढी व्याख्या गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनन् भनेको छ । नेपालमा नेपाली जनताले छानेर पठाएका सरकार जो गए पनि हाम्रा छिमेकी मित्रहरुले सम्मान गर्छन्, स्वागत गर्छन् । जनताबाट छानिएको सरकारसँग व्यवहार गर्ने हो, आफ्ना दलाल खोजेर व्यवहार गर्ने होइन ।
नेपाली जनताले सरकार बनाउँछन्, अनि अरु कसैले के भन्छ भने पछि सार्वभौमसत्ता नेपाली जनतामा छ कि अन्त कतै छ ? अरु कसैले सरकार तोक्ने कि नेपाली जनताले तोक्ने ? नेपाली जनताले बनाएको सरकारसँग कारोवार गर्ने कि अरु कसैले भने जस्तो सरकार बनाइदिनु पर्ने यहाँ ? यति निराधार, यति भ्रमपूर्ण र यति कुतर्कयुक्त छन् कि यी राष्ट्रिय स्वाभिमानको दरिद्रता, स्वाभिमान हराएका, स्वाभिमान मरेका, त्यस्ता निर्जीव तत्वहरुले चलाएका हल्ला हुन् । आन्तरिक निर्वाचनका बेला यस्तो प्रश्न नआउनु पर्ने, तर मान्छेहरुले हल्ला चलाएकाले प्रश्न सान्दर्भिक भयो ।
हामी नेपाल र भारतको विच अत्यन्तै सुमधुर सम्बन्ध बनाउँछौँ । राष्ट्रिय हितको रक्षा गरेर न्यायोचित ढङ्गले राष्ट्रिय हितका प्रश्नहरुलाई अघि बढाएर, स्वाभिमानको रक्षा गरेर, अन्तर्राष्ट्रिय कानुन अनुरुप संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, अहस्तक्षेपको नीतिका आधारमा, बराबरीको हैसियतमा, पारस्परिक लाभ र पारस्परिक सम्मानको आधारमा हामी दुई देशका विचको सम्बन्धलाई अत्यन्त सुमधुर ढङ्गले अगाडि लान्छौँ ।
एउटा विकृत मानसिकता छ, नेपाल अलि सानो छ अनि लतारिनु पर्छ भन्ने । होइन त्यो, आकारमा जनसङ्ख्यामा अलिक सानो होला, विकासमा अलि पछाडि होला । तर विश्वका देशहरुमध्ये ४१ औँ देश हो यो, साह्रै सानो देश होइन । मझौलाभन्दा ठूलो देश हो । सानो भए पनि सबै राष्ट्रहरु समान छन् ।
तिनको स्वतन्त्र हैसियत, तिनको सार्वभौमसत्ता हैसियत समान छ । सानो भए पछि लत्रिनु पर्छ भन्ने दमित मानसिकता सही होइन । चीनसँग पनि त्यही गर्छौँ । भुमि जोडिएका हाम्रा दुई छिमेकीसँग हामी बराबरीको र सुमधुर सम्बन्ध राख्नै पर्छ हामी राख्छौँ । र, त्यो सम्बन्ध राम्रो नहुन हाम्रातर्फबाट कुनै कारण हुन दिदैनौँ ।
चीनका राष्ट्रपति सी जिङ पिङ अहिले विश्वकै शक्तिशाली व्यक्तिको रुपमा उदाउनु भएको छ । अब बन्ने सरकार र नेपालका लागि त्यसले कस्तो प्रभाव पार्ला ? एउटा छिमेकी बलियो हुनु, समृद्ध हुनु, त्यसका नेता स्थापित हुनु नराम्रो कुरा होइन । त्यसो भइरहँदा त्यो बल र त्यो तागतले हामीलाई घचपच थिचोमिचो भयो भने राम्रो गर्दैन भन्ने हुन्थ्यो । उहाँहरुको त्यस्तो घचपच थिचोमिचो होइन कि सहयोगी भावना छ । विकासका हाम्रा प्रयासहरु, हाम्रा चाहनाहरुलाई मदत गर्नु पर्छ भन्ने नै छ ।हामीले भेटेका छौँ, कुरा गरेका छौँ । त्यही देखिन्छ । हामीले अघिपछिका अभिव्यक्तिहरुलाई सुनेका छौँ । उहाँहरुको समृद्धि सकारात्मक छ । उहाँहरुको नीति अहस्तक्षेपकारी र सहयोगी छ ।
त्यो व्यवहार पनि भएको छ । अहस्तक्षेप र सहयोगका नीति भएकाले हाम्रा लागि खुशीको कुरा हो । त्यसकारण उहाँहरुसँग राम्रो सम्बन्ध हुन्छ । नेपालको सरकार जसको भए पनि पक्ष र विपक्ष, यल्लाई र उल्लाई भन्दैन चीनले । नेपालको विकासका लागि सहयोग गर्छ । यस नाउमा उस नाउमा चीनले अन्डरह्यान्ड काम गरेको मैले देखेको छैन । रगरग गर्दै, यसको पक्ष र उसको पक्ष भन्दै चीनको राजदूत कुदेको मैले देखेको छैन ।
सरकारले निर्वाचनका बेला राहत बाँडिरहेको छ, नियुक्ति, सरुवा र बढुवा गरिहेको छ । तर एमाले मौनता साँधिरहेको छ नि ? किन होला ? नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नु नै गल्ती हो । नेपाली काङ्ग्रेस जस्तो देशको चिन्ता नभएको वा देशको चिन्ताबाट खस्किएको, देशका लागि केही गर्नु पर्छ भन्ने नीति, भावना र विचार केही नभएको, सत्तातिर मात्र देख्ने, एक्काको घोडो जस्तो वर्तिर पर्तिर कतै नदेख्ने पार्टी हो । अगाडि पद प्लस लाभ गरी दुईटा चीज मात्र देख्छ अहिलेको सरकार ।बाढीका बेला राहत बाढ्नु नि, पहिरो गएका बेला राहत दिदैन । यतिबेला राहत बाढ्दै हिँड्छ । यसै क्षेत्रमा आएर पनि सरकारले राहतका कुरा गरेर हिँड्यो । विकास निर्माणको विरोध गरेर हिँड्यो काँंग्रेसले । क्षुद्र राजनीति गरेर हिँड्यो । यहाँ आदिवासी , जनजाति भनेर साम्प्रदायिक विद्वेष भड्काएर हिँड्यो । संस्कृतमा भनाइ छ केटाकेटीको बल भनेको रुने कराउने हो । काङ्ग्रेसको बल भनेको झुठ र बेइमानी गर्ने हो । उसँग देश बनाउँछु भन्ने एजेन्डा छैन, अनि भ्रम फिजाउँछ, अनेक कुरा गरिहिँड्छ ।
कतिपय काङ्ग्रेसका साथीहरु, हिजो दुःख गरेका, हिजोको पृष्ठभुमि भएका मान्छेहरु कुनामा फालिएका छन्, रोएर बसेका छन् । विचित्रसँग कसरी सहेका होलान् भनेर मैले तपाइँहरुलाई साह्रै पीडा छ, दुःख छ काङ्ग्रेसका साथीहरु, त्यस दुःखमा मेरो पनि सहभागिता छ, समवेदना छ, भनेको थिएँ । समवेदना भनेको छ मान्छे मरेपछि भनिन्छ भनेर भनेछन् ।
सम भनेको बराबर र बेदना भनेको दुःख हो । दुःख शेयर गर्ने भनेको पो हो त । यति भाषा बुझ्ने मान्छे कांग्रेसमा छैनन् कि क्या हो ? अझ निर्वाचन आयोगमा उजुर हाल्न पो गएछन् । जे होस् नेपाली काङ्ग्रेसका इमान्दार मतदाता र कार्यकर्ताहरुप्रति मेरो सहानुभूति छ । उहाँहरु लोकतन्त्रका लागि लड्नु भयो, तर लुटतन्त्र गर्नेहरुका हातमा गयो पार्टी । लोकतन्त्र गर्छ काङ्ग्रेसले भनेका त लुटतन्त्र पो गर्न थाल्यो । उहाँहरुलाई पक्कै पीडा छ । तर म उहाँहरुलाई के पनि भन्छु भने पीर गर्नु पर्दैैन बाबा, यहाँ एमाले पनि छ । किन पीर गर्ने ? उहाँहरुले चाहेको लोकतन्त्र एमालेले दिन्छ । सुशासन एमालेले दिन्छ । हामी छौ नि त । पार्टी प्रवेश गर्नुस्, अहिले भ्याइएन भने भोट हालिराख्नुस्, पछि प्रवेश गर्दा पनि हुन्छ ।
कामचलाउ सरकारले आचारसंहिता विपरीत गरेको निर्णय र नियुक्तिहरु आगामी बन्ने सरकारले के गर्छ ? मान्छे घरभित्र राख्नु भयो भने त ठिकै हुन्छ, बाँदर घरभित्र हुल्नु भयो भने के होला ? बाँदरको एउटा एउटा उपद्रोको कुरा गर्ने भन्दा बाँदरै हटाउनु पर्छ घरबाट । अहिले वीपी कोइरालाको जमाना हो र ? गणेशमानले काङ्ग्रेस छाड्दा यति साह्रो गिरिसकेको थिएन । भट्टराईले काङ्ग्रेस छाड्नु भयो । काङ्ग्रेस काम लाग्दैन भनेर छाड्नु भयो ।त्योभन्दा पनि अहिले त खतमै भइसक्यो । बेठिक गरेका कुराहरुलाई मैले अस्तिनै भनिसकेको छु, आगामी सरकारले बेठिक कुराहरुलाई रद्द गर्छ भनेर । चुनाव खर्चका लागि जो गरिदैछ त्यस्ता निर्णयहरु, चुनाव खर्च जोगाड गरिदिनेहरुका खर्च खेर जालान् । यति भनेपछि सुन्नु पर्ने हो, सुन्दैनन् र खाए र पाएँ भन्ठान्छन् भने पछि रद्द हुँदाखेरि थाहा पाउँछन् । देशको बेइज्जतै भइसक्यो अब त ।
कामचलाउ सरकारले चुनाव पो गराउन पर्यो, दिनदिनै बम पड्किन्छन् । मान्छे घाइते भएका छन्, हात खुट्टा चुडिएका छन्, त्यतापट्टि ध्यान दिनु पर्ने, नचाहिने कुरा गर्या छ, अधिनायकबाद आउँछ भन्या छ । जनतालाई त्रसित पारेको छ । जनताले भोट दिएर जिताउँछन् भन्ने विश्वास छैन, ज्योतिषीले जिताउँछन् भनेको छ ।
निर्वाचनलाई लक्षित गरेर बम बिष्फोटका घटना भइरहेका छन् । किन त्यस्तो भएका होलान् ? कुनै पनि कुराको उद्देश्य हुनु पर्ने, यात्रा गर्दा गन्तब्य हुनु पर्ने, गन्तब्यमा पुग्ने उद्देश्य अनुसारको बाटो हुनु पर्ने ।यो बमको गन्तब्य के ? कहाँ पुग्नका लागि, के का लागि ? चुनाव हुनु हुँदैन भनेको हो कि ? चुनाव हुनु हुँदैन भने के हुनुपर्छ ? जनताले भने अनुसार हुनु हुँदैन भने कसले भने अनुसार हुनु पर्छ ? जनताले अभिमत दिन लागे भनेर त्यो हुनु हुँदैन भने कसले भने अनुसार हुनुपर्छ त ? स्वदेशी विदेशी कसले भने अनुसार हुनु पर्ने हो ? जननिर्वाचित प्रतिनिधिले शासन प्रशासन नचलाउने हो भने कसले चलाउनु पर्छ त ? राजनीतिको गन्तब्य पहिला निर्धारण हुन पर्यो ।
यो त नितान्त आतङ्कपूर्ण क्रियाकलाप, आतङ्ककारी काम, कसैको अरुको हितका निम्ति अराउखटाउमा गरिएको काम हो । बाण चलाउने अर्कै हुन्छ, उभिएर गुलेली देखाउने शिखण्डीको रुपमा उभिने काम जस्तो मात्र देखिन्छ । कुनै राजनीतिक उद्देश्य, तालमेल देखिदैन यसमा । तर यसप्रति सरकार अलिक उदासिन देख्छु म ।