विराटनगर/ जाडोले कठ्याङग्रिएकी वृद्धालाई विभिन्न सामाजिक संघसंस्थाले लत्ता कपडा र ओडने ओछ्याउने दिएपछि ७८ वर्षिय चन्द्रकुमारी ठाकुरी खुसी भएकी छिन् ।

विराटनगर – ११ पिचराको दुर्गा मन्दिर छेउँमा सानो छाप्रो बनाएर बसोबास गर्ने वृद्धालाई विभिन्न संघसंस्थाले सोमबार लत्ता कपडा  र ओड्ने ओछ्याउने दिएका थिए । आइतबार ब्लाष्टमा मुटु काम्ने जोडोमा ‘वृद्धाको कष्टकर जीवन’ भनेर प्रथम पृष्ठमा समाचार प्रकाशित भएपछि वृद्धालाई मनकारी संघसंस्थाले सहयोग गर्न थालेका छन् । लायन्स क्लब एकाडेमी विराटनगर र महिला तथा बालवालिका केन्द्र मोरङले वृद्धालाई सहयोग गरेको छ । लायन्स क्बलले वृद्धा ठाकुरीलाई ओढने सिरक, डसना, ज्याकेट र विस्कुट सहयोग गरेको थियो भने महिला तथा बालवालिका कार्यालय मोरङ वृद्धा बस्ने छाप्रोलाई सितबाट जोगाउन त्रिपाल प्रदान गरेको छ । हालै गठन भएको लायन्स क्लब एकाडेमीका अध्यक्ष विष्णु डंगोल, द्धितिय उपाध्यक्ष अर्जुन श्रेष्ठको उपस्थीति भएर वृद्धालाई लत्ता कपडा वितरण गरेका थिए । पुसको सुरुवातदेखिनै सितलहरसँगै जाडो बढेपछि वृद्धा चन्द्रकुमारीले तावामा आगो बालेर रात कटाउने गरेकी थिइन् । जाडोमा न्यानो कपडा पाएछि वृद्धा हर्सिद देखिन्थिन् । लत्ता कपडा पाएपछि उनले भनिन्, ‘हामी जस्तो दुःखीलाई हेर्ने मनकारी हुदो रहेछन् । जाडोमा न्यानो कपडा पाउँदा धेरै सहयोग मिलेको छ ।’