इटहरी/ मूख्य लाेकमार्गमा चल्न नपाउने नियमका वावजुद पनि सञ्चालित तीनचक्के अटो रिक्सा, सिटी सफारी चालकहरुले इटहरीको मुख्य चौकमा कुद्न पाउनु पर्ने माग राख्दै एकघण्टा चक्काजाम गरेका छन् ।

ट्राफिक प्रहरीले मूख्य मार्गमा चल्दै आएको सफारीलाई रुट अनुसार चलाउँने प्रयास गरेपछि मुख्य चौकमा सफारी तेर्साएर सफारी चालकहरूले सडक बन्द गरेका हुन् ।

विहिवार सफारी चालकहरुले सरकारी नियम नमान्ने भन्दै सडकजाम गराए । पूर्वका मुख्य शहरहरुमा टाउको दुखाइको विषय बनेकाे सफारीलाई कडाई नगर्दा कानुन विपरीत काम गरेकाे स्वयम प्रहरी प्रशासन बताउँछ ।

सफारी नियन्त्रण गर्ने प्रयास ट्राफिक प्रहरीले  गरे पनि असफल हुदै आएको छ । प्रशासन गैरजिम्मेवारका कारण अहिले इटहरीका मुख्य मार्ग अस्तव्यस्त बन्न पुगेकाे छ ।

सिटी सफारीलाई व्यवस्थापन गर्नुपर्ने निकायले एकले अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने गरेका छन् । हालसम्म सफारी नियन्त्रणमा कसैले चासाे देखाएकाे छैन । सफारीले अस्तव्यस्त बनाएकाे स्वीकार्दै इटहरीका सफारी चालक रमेश चौधरी भन्छन, 'हामीले कमाएर खान पाउँनु पर्छ ।' अबैध रुपमा कुदाउँन पाईन्छ भन्ने जिज्ञासामा उनले थपे, 'पहिला किन दिए त ?' उनीजस्ता सफारी चालकहरु कानुन विपरीत सफारी चलाउन जिद्दी गरीरहेका छन् ।

सरकारी निकायहरुको आपसी समन्वयको अभाव र कमजोरीका कारण सफारी नियन्त्रण हुन सकेको छैन । तर क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका एसपी राजकुमार लम्सालले आफूहरु सफारी नियन्त्रणमा लागेको बताए । उनले सफारीले इटहरी अस्तव्यस्त बनाएकाले नियन्त्रणको प्रयासमा लागीपरेको बताए । 'सफारीका लागि भित्रि सडकहरु छुट्याएको भए पनि चालकहरुले अटेर गरेर सञ्चालन गदै आएका छन्, उनले थपे ।

चालकसँग अनिवार्य सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुनुपर्ने भए पनि सिटी सफारी चालकहरुसँग भने लाइसेन्स छैन । स्थानीय तहको अनिवार्य सिफारिस लिएर सिटी सफारी यातायात व्यवस्था कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ । 'यसरी दर्ता भएपछि मात्रै सफारीले सिफारिस पाएको नगरभित्र रुट परमिट पाउँछ र त्यही अनुसारकाे सञ्चालनको अनुमति दिइन्छ ।, यातायात कार्यलय इटहरीका प्रमुख चन्द्र फुयालले भने ।

अस्तव्यस्त बन्दै इटहरी

पूर्वकै केन्द्रबिन्दु इटहरी सिटी सफारीका कारण अस्तव्यस्त बनेकाे छ । मूख्य चाेक केन्द्रित हुँदा इटहरीको हाईवे अस्तव्यस्त हुन पुगेको हो । जसका कारण दुर्घटनाको जोखिम उच्च रहेकाे छ । जथाभावी गुड्ने सफारी कसको संरक्षणमा हाेला ? जनताको प्रश्न गर्छन्। सफारीलाई कारवाही गर्न नसक्दा ‘सफारी आतङ्क’ नै सिर्जना भएको छ ।

ट्राफिककाे कमजोरी

सडकमा भइरहेको अस्तव्यस्त नरोकिनुमा ट्राफिक प्रहरीको कमजोरी छ । नियमविपरीत कुदिरहेका सफारी नियन्त्रण गर्ने ट्राफिकलाई कुन कानून बाधक छ ? किन कारवाही गर्न सक्न्दैन ट्राफिक प्रहरी ? शहरी क्षेत्रमा सवारी साधनको चापसँगै सफारी जामले शहरी क्षेत्रको यात्रा दुःखदायी हुन पुगेको छ। नियमविपरीत कुदाइएको सफारीलाई धमाधम पक्राउ गर्दै कारवाही गर्न सक्नुपर्छ । सडक वरपर भइरहेको विकृतिका विरुद्धमा ट्राफिक प्रहरीले गम्भीरता देखाउने हो भने केही हदसम्म सडक व्यवस्थापन राम्रो हुने पक्का छ । उनीहरुले कानून विपरीत गरिरहँदा पनि किन पछि सर्छ ट्राफिक प्रहरी ?