पानवारी /सेवक अभियान धरानले धरानका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको छ । मंगलबार धरान–८ स्थित सहिद स्मृति माविमा सहित स्मृति मावि र बद्रीनाथ आधारभूत विद्यालय धरान–१५ का असहाय र निम्न वर्गका विद्यार्थीहरुलाई स्वेटर वितरण गरेकाछन् । सेवक अभियानले सहिद स्मृति माविका ३० जना विद्यार्थी र बद्रीनाथ आधारभूत विद्यालयका २२ जना विद्यार्थी गरी जम्मा ५२ जना विद्यार्थीलाई स्वेटर वितरण गरेको छ। सहिद स्मृति माविका विद्यार्थीलाई धरानकै आफ्ना स्व. छोरा सोजंग राईको स्मृतिमा बाबु जंगकुमार राईले स्वेटर उपलब्ध गराएका थिए भने बद्रीनाथ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई तुलसा गुरुङले आफ्नो जन्मदीनको अवसर पारेर स्वेटर किनिदिएकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राई, कार्यक्रमका विशेष अतिथि सुनसरी क्षेत्र नं. १ (क) का प्रदेश सांसद प्रदीप भण्डारी अथितिहरु विद्यालयका निरिक्षक खेमचन्द्र सुवेदी लगायतले विद्यार्थीलाई स्वेटर वितरण गरेका हुन् । सहिद स्मृति माविका प्रधानाध्यापक रामबहादुर विष्टले सेवक अभियान तथा स्वेटर उपलब्ध गराउने दाता महानुभावलाई धन्यवाद व्यक्त गरेका थिए भने आगामी दिनमा समेत यस्तै सामाजिक कार्य गर्न हौसला दिएका थिए ।
सेवक अभियानका अध्यक्ष राजीव हलवाईले धरान उपमहानगर भित्रका ४८ वटै सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा क्रमशः बाड्दै जाने जानकारी गराएका छन् ।