मोरङ/ झापाको दमकमा शिक्षकको निर्ममतापूर्वकको कुटपिटबाट सख्त घाइते बालिकाको उपचार खर्च सहित राहत स्वरुप विद्यालयले ३ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने सहमति भएको छ ।

दमक ६ स्थित गायत्री विद्यापिठ बाेर्डिङ स्कुलका कम्प्युटर शिक्षक प्रनय दुतराजको निर्ममतापूर्वकको कुटपिटबाट दमक ५ की कक्षा ५ मा अध्ययनरत १४ वर्षीया विद्यार्थी कुसुम निरौला थला परेपछि विद्यालयले ३ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने सहमति गरेको हो ।

कुसुमका बुबा अच्यूत निरौलाले छोरीको उपचार खर्च तथा राहत स्वरुप विद्यालयले ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने र हाललाई १ लाख रुपैयाँन् प्रदान भएको जनाउँदै कुटपिट गर्ने शिक्षक दुतराजलाई भनें सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाइएको जनाए ।

गत मंसिर २७ गते दिउँसो पढाउने क्रममा आफुले सोधेको वेभसाइडको डब्लुडब्लुडब्लुको पुरा अर्थ भन्न नआएको निहुँमा दुतराजले आफ्नो टाङमुनी कुसुमको टाउको छिराएर पछाडी ढाडमा मुठ्की प्रहार गरेका थिए । त्यसखाले कुटपिटबाट कुसुमको ढाडको लिगामेन्ट च्यातिएर दुवै खुट्टा नचल्ने अवस्थामा पुगेर ओछ्यान परेको पिडीत परिवारले पत्रकार सम्मेलन गरी घटना बाहिर ल्याएका थिए । प्रहरीले कुटपिटको केही दिनपछि दुतराजलाई पक्राउ गरी कानूनी कारवाही थालेको छ ।

बालिकाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भएकोे छ । बालिकामाथि निर्मतापूर्वक कुटपिटको घटना भएपछि विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल गणेश श्रेष्ठमाथि विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो समेत दलेको उल्लेख छ ।