धरान/पूर्वाञ्चल इन्जिनियरिग क्याम्पसको कृषि इन्जिनियरिग विभागमा चौथो वर्षमा अध्ययरत विद्यार्थी पदमरञ्जन चौधरीको दोहोरो भर्ना शुल्क लिएको विरोधमा उत्रिएका विद्यार्थी संगठनहरुले आइतबार फेरि आन्दोलनलाई चर्काएका छन् ।
गत सोमबारबाट पूर्वाञ्चल इन्जिनियरिग क्याम्पसको प्रशासनको मूख्य ढोकामा तालाबन्दी गरेर आन्दोलित बनेका थिए । क्याम्पस प्रशासनले मागको कुनै सुनुवाई नगरेको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलनलाई थप चर्काएका हुन् ।
यता प्रशासनले भने विद्यार्थीको गल्तीका कारण नै दोस्रो वर्षमा दुई पटक भर्ना गरेकाले उक्त समस्या क्याम्पस प्रशासनले नभई इन्जिनियरिग अध्ययन संस्थान अन्तर्गतको डिन कार्यालयले मात्रै पूरा गर्न सक्ने बताएको छ । क्याम्पस प्रशासनले यस विषयमा मंसिर मै लिखित रुपमा जानकारी गराइसकेकाले उताबाट केही पनि जवाफ नआएको क्याम्पस प्रमुख जितेन्द्र चौधरीले यस अघि नै बताइसकेका छन् ।
समाजवादी विद्यार्थी फोरम, नयाँ शक्ति विद्यार्थी युनियन, नेपाल तराई विद्यार्थी संघ पूर्वाञ्चल इन्जिनियरिग क्याम्पस इकाई कमिटीले तालाबन्दी गर्दै आन्दोलित बनेका थिए । त्यस्तै कृषि इन्जिनियरिग विभागका सम्पूर्ण विद्यार्थीहरु पनि तालाबन्दी गर्दै आन्दोलित बनेका थिए । विद्यार्थी चौधरीले परीक्षा फर्म भर्ने समयमा ढिला गरी भरेका कारण परीक्षा नियन्त्रण कार्यालयले नै उसलाई परीक्षा दिन बन्चित गरेको थियो । उक्त कारण नै उनले पुनः दोस्रो पटक पनि सोही सेमेष्टरमा पुनः भर्ना गरेर पढाईलाई निरन्तरता दिएका थिए ।
सोही कारण नै क्याम्पस प्रशासनले उक्त समस्याको हल गर्न नसक्ने प्रमुख चौधरीको भनाइ छ । तर, विद्यार्थीहरुले भने क्याम्पस प्रशासनले कुनै पनि पहल नगरेका कारण समस्या हल नभएको दाबी गर्दै आएको छ । त्यति मात्रै हैन, क्याम्पस प्रशासनले विद्यार्थी चौधरीको समस्या समाधान गर्ने भन्दै मौखिम प्रतिवद्धता जनाएको विद्यार्थीहरुले बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस इकाई कमिटीका सदस्य नविन कर्णले चौधरीको माग प्रशासनले आलटाल गरेका कारणले पनि बाध्य भएर आन्दोलन चर्काउनु परेको बताए । ‘हामी पटक पटक वार्ता तथा छलफलमा बसियो । तर, क्याम्पस प्रशासनले माग पूरा गर्न गम्भीर भएन ।, उनले भने ।
अनेरास्ववियुका क्याम्पस इकाई कमिटीका अध्यक्ष मुकेशकुमार पोखरेलले जवसम्म दोहोरो भर्ना शुल्क फिर्ता हुँदैन तवसम्म आन्दोलन जारी रहने र थप शसक्त बन्ने बताएका छन् । प्रशासनको मूख्य गेट अघि नै उनीहरुले नाराबाजी गरेका थिए ।