बैतडी / सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले तालाबन्दी गरेका छन् । दश महिनासम्म तलब नपाएको भन्दै नीजि स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले तालाबन्दी गरेका हुन् ।

नीजिस्रोतका शिक्षकको तलब समयमा दिइनुपर्ने, तलब वृद्धि हुनुपर्ने र विद्यालयको निर्माणाधीन भवन समयमै सम्पन्न हुनुपर्ने माग सहित शिक्षक महराले विद्यालयमा तालाबन्दी गरेको स्थानीय बासीप्रकाश भाटले बताए ।

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर समस्या समाधान गर्ने भनिए पनि शिक्षक महराले तालाबन्दी गरेको प्रधानाध्यापक कृष्णसिंह महराले जनाए । उनले भने, ‘विद्यालयको आयस्रोत कम छ । नीजिस्रोतका शिक्षकलाइ तलब दिन सकिएको छैन । व्यवस्थापन समितिको बैठक बोलाएर समस्या समाधान गरिनेछ ।’

जिल्लाका पाँच सय ३९ सामुदायिक विद्यालय मध्ये दुई सय २४ मा दरबन्दी छैन । दरबन्दी नभएका विद्यालय नीजि शिक्षकको भरमा सञ्चालन भईरहेका छन् ।