धरान/युवालाई देशमै स्वरोजगार बनाउने अभियानमा नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषद् लागेको छ ।
[caption id="attachment_68130" align="alignnone" width="1023"]
तस्बिरः भोजराज श्रेष्ठ[/caption]
युवा परिषद्ले युवा विकासको लागि पाँचवटा आधारशिलाहरु तयार पारेको छ । जस अन्तर्गत गुणस्तरीय र व्यवसायिक शिक्षा, रोजगारी उद्यमशीलता र सीप विकास, स्वास्थ् र समाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास साथै खेलकुद र मनोरञ्जन रहेका छन् ।
यी आधारशिलामार्फत् युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने रणनीति अघि सारेको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सोमबारको पत्रकारसँगको अन्तरक्रियामा बताए । उनले युवाहरुलाई गाउँमै रोजगार तथा उद्यमको लागि प्रोत्साहन गर्ने बताउँदै विदेश पठाउँदा पनि दक्ष जनशक्तिलाई पठाउने बताए ।
उनले दुईवर्षको अवधिमा परिषद्ले ७ सय ३० वटा तालिमहरु सञ्चालन गरेको बताए । परिषद्ले युवाहरुको डाटा संकलन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा हेर्न सकिने गरीको वेवसाइट निर्माण गरिने बताए । ‘हामीले वेवमार्फत् विश्वभरी नेपालको युवाहरुको आँकडा हेर्न सकिने बनाउँदै छौं ।’ उनले भने, ‘त्यसमा कति युवाहरु रोजगार छन्, कति पढ्दैछन्, कति पढ्नका लागि विदेश गएका छन् । कति रोजगारीको लागि विदेशिएका छन् । युवाको अवस्था के छ त्यसमा सबै अटाउने छौं ।’ उनले अव प्रशासनिक खर्चलाई घटाउँदै विकासको काममा बढी भन्दा बढी खर्च गर्ने बताए ।
अहिले युवा परिषद्ले ७५ वटै जिल्लामा जिल्ला युवा समितिको कार्यलय तथा कार्यालयको प्रमुख नियुक्त गरिसकेको छ । जसले युवाहरुको आँकडा राख्दै स्वरोजगार तर्फ उन्मुख बनाउन लागि रहेको जिल्ला युवा समितिका अध्यक्ष हर्कजङ्ग एभेङले बताए । उनले केही युवाहरुलाई पहिलो चरणमा मोबाइल तालिमसमेत दिइसकेको बताए । २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका करिव ४० दशमलव ३५ प्रतिशत युवाहरु रहेका छन् । युवाहरुलाई लक्षित गर्दै परिषद् गठन भएको हो ।