इटहरी/ माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने भएको छ ।
आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि (एसइई)को नतिजा निकाल्न कठिन हुने भएको हो ।
यस वर्षको एसइई परीक्षाको नतिजा आउन कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
अहिले जिल्ला शिक्षा कार्यालयले एसइइको ९५ प्रतिशत काम सकेको सदस्य तथा बोर्डका अध्यक्ष पौडेलले बताए । जिशिका नहुने भएपछि यसको संक्रमणकालिन ब्यवस्था नभएमा नतिजाका लागि विश्वविद्यालयमा जस्तै महिनौँ पर्खिनुपर्ने अवस्था आउने प्रति उनले चिन्ता ब्यक्त गर्दै उनले भने, ‘चैत ८ देखि हुने एसइइ परीक्षा त राम्रोसंँगै सम्पन्न होला, परीक्षा सकेपछि जिशिका रहँदैन, त्यसपछि उत्तरपुस्तीका कहाँ, कसले परीक्षण गर्ने भन्ने लगाएतका गम्भीर समस्या उत्पन्न हुन्छ ।’
देश संघीयतामा गएपछि जिल्ला शिक्षा कार्यालय खारेज हुँदै छ । एसइईसम्बन्धी धेरै काम जिशिकाबाटै हुने गरेका थिए । विद्यार्थीको रजिस्ट्रेसन, परीक्षाको आवेदन फारम भराउने, परीक्षा केन्द्र निर्धारण गर्ने, केन्द्रबाट पठाएका प्रश्नपत्र र उत्तरपुस्तिका राखेर केन्द्रसम्म र्पुयाउने र संकलन गर्ने, परीक्षाको समन्वयको काम जिशिकाले गर्दै आएको थियो ।
परीक्षा सम्पन्न भइसकेपछि केन्द्रको निर्णयअनुसार उत्तरपुस्तिका परीक्षणका लागि अरू जिल्लामा र्पुयाउने, अरू जिल्लाबाट आएकालाई परीक्षणको व्यवस्थापन गर्ने काम गर्दै आएको थियो । तर, सम्पर्क गर्ने र कामको जिम्मेवारी दिने निकाय नहुँदा विद्यार्थीको तथ्यांक संकलनमा जटिलता आउने देखिएको छ ।