पाँचथर/ मुलुकमै पहिलोपल्ट पाँचथरबाट सुरु गरिने राष्ट्रिय परिचय पत्र वितरणका लागि तयारी थालिएको छ । यसका लागि राष्ट्रिय परिचय पत्र ब्यवस्थापन केन्द्रका कार्यकारी अधिकृत रामकृष्ण सुवेदी सहितको टोली पाँचथर आइपुगेको छ ।
कार्यकारी अधिकृत सुवेदी सहितको टोलीले पहिलो चरणमा प्रचार–प्रशारको काम सुरु गरेको छ । बिहीबार सदरमुकाम फिदिममा पत्रकारहरु सँगको अन्तरक्रियामा बोल्दै सुवेदीले फिदिम नगरपालिकाको सबै वडाका जनप्रतिनिधि र जिल्ला स्थित कार्यालय प्रमुखहरु सँग आवस्यक परामर्श गरिएको बताए । अब जिल्लाका सात वटै गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवाला सँग छलफल गरिने सुवेदीको भनाई थियो ।
परामर्श र प्रचार–प्रशारको काम सकिए पछि फागुन पहिलो हप्ता सम्ममा विवरण संकलनको काम सुरु गरिने बताइएको छ । त्यसपछि संकलित विवरणलाई गृह मन्त्रालयमा पुर्याएर परिचय पत्र प्रिन्ट गरी चैत अन्तिमदेखि वितरण गरिने कार्यकारी अधिकृत सुवेदीले बताए । परिचय पत्र प्रिन्ट गर्नका लागि गत अगस्तमै फ्रान्सबाट मेशिन गृह मन्त्रालयमा ल्याइसकिएको पनि उनले बताए ।
पहिलो चरणमा एक लाख १७ हजार राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी छ । जसमध्ये पाँचथर जिल्लामा एक लाख दश हजार परिचय पत्र वितरण गरिनेछ भने बाँकि सात हजार सिंहदरबारका कर्मचारीलाई वितरण गरिनेछ । परिचय पत्रमा सुरुमा ब्यक्तिको वैयत्तिक र जैविक विवरण समाबेश गरिनेछ । मेमोरी चिप्स सहितको मेशिन रेडिवल कार्ड हुने भएकाले पछिबाट यसमा आवस्यक अन्य सम्पूर्ण विवरण समेत अटाउँन सकिने बताइएको छ ।
तत्काललाई नेपाली नागरिक्ता लिइसकेका र नागरिक्ता लिन योग्यता पुगेकाहरुलाई परिचय पत्र वितरण गरिने केन्द्रका निर्देशक चेतराज पराजुलीले बताए । नेपाल सरकारले वि.सं.०६६÷६७ देखि नै राष्ट्रिय परिचय पत्र वितरणको अवधारणा अघि सारेको थियो । तर १९ भदौ ०७४ को मन्त्रीपरिषदको निर्णय पछि भने परिचय पत्र वितरणको कामले मूर्त रुप लिएको हो ।
परिचय पत्रमा सरकारी कार्यालय साथै अन्य सम्पूर्ण काममा आवस्यक विवरण समेत राख्न सकिने भएकाले अब बिस्तारै अन्य परिचय पत्रहरुको काम पनि राष्ट्रिय परिचय पत्रले नै गर्ने कार्यकारी निर्देशक सुवेदीले बताए । जसबाट राज्यको ब्ययभार समेत कम हुँदै जाने सुवेदीले विश्वास ब्यक्त गरे ।
सदरमुकाम स्थित होटल सरगमको सभाहलमा सम्पन्न अन्तरक्रियामा पाँचथरका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले पाँचथरबाट सुरु हुन लागेको यो राष्ट्रिय अभियानलाई सबैले सहयोग गर्नुपर्ने बिचार ब्यक्त गरेका थिए ।