भद्रपुर । नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीले सीमावर्ती नाका सर्वसाधारणको आवतजावतका लागि मात्र नभएर नेपाल–भारत सीमावर्ती नाकामा भइरहेको व्यापार–व्यवसायलाई अझ सहज र सरल बनाउन भारत सरकार लागि परेको बताएका छन् । भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लामा सुरक्षा सम्बन्धी बैठकमा सहभागि हुन शुक्रवार दिउँसो झापाको सदरमुकाम भद्रपुर आइपुगेका भारतीय राजदूत पुरीले भद्रपुर नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन् । नेपालको विकास हुनु भनेको भारतको विकास भएको उल्लेख गर्दै भद्रपुरको मेची पूलसंग जोडिने गलगलियाको नाकाको पनि निरीक्षण गरि व्यापारिक केन्द्र बनाउने योजना तयार रहेको बताए । भारत सरकारले विराटनगर र विरगंञ्ज नाकामा व्यापार– व्यवसायमा लाग्ने करलाई सहुलियत बनाउन ठूला–ठूला योजनाको कामहरु सुरु गरिसकेको उनले जनाए । सोही किसिमको आर्थिक एजेन्डा बोक्ने योजनाहरु झापाको काकँडभिट्टा र भद्रपुरसहित देशका अन्य प्रमुख नाकामा पनि चाँडै सुरु गन उनको भनाइ थियो । भद्रपुरमा निर्माणाधीन अवस्थामा रहेको मेची पूलले भारतको विहार तथा बंगाल राज्यसहित भद्रपुरको व्यापारमा समेत टेवा पुर्याउने संभावना बोकेको उनको धारणा थियो । काँकडभिट्टामा भारतीय सरकारले निर्माण गर्न लागेको मेची पूलको बारेमा बोल्दै उनले काँकडभिट्टा एसियन राजमार्गसंग जोडिएको प्रमुख नाका भएकोले नदीमा पूल बनाउन भारत सरकारले नेपाल सरकारसंग लिखित सम्झौता गरिसकेको जानकारी दिए । पूल निर्माणमा नेपालको तर्फबाट केही प्राविधिक समस्या रहेकोले त्यसको समाधान भएसँगै पूल निर्माणले तिव्रता लिने उनको भनाइ थियो । पहिलो पटक भद्रपुर आएका भारतीय राजदूत मनजीव सिंह पुरीलाई भद्रपुर नगरपालिकाले स्वागत तथा सम्मान गरेपछि हर्षित हुर्दै उनले नगरपालिका प्रति आभार प्रकट गरेका थिए । नगरपालिकाले आयोजना गरेको संक्षिप्त कार्यक्रममा मेयर जीवन कुमार श्रेष्ठले हाल भद्रपुर नगरपालिका बृह्त भएको उल्लेख गर्दै नगरपालिकामा रहेको एउटा दमकलले सेवा दिन समस्या भएको राजदुतलाई जानकारी गराएका थिए । नगरको समस्यालाई अघि सार्दै मेयर श्रेष्ठले राजदुतलाई दमकल सहयोगको लागि लिखित पत्र हस्तान्तरण गरेका थिए । पत्र बुझदै राजदूत पुरीले भारतीय सीमासंग जोडिएको भद्रपुरको विकासको लागि सक्दो पहल गर्ने आश्वासन दिए । यसअघि पनि भारतीय राजदूतको सहयोगमा विभिन्न योजना नगरमा आइसकेको अवगत गराएका थिए । बारुणयन्त्रको बिषयमा नेपाल सरकारसंग समन्वय गरि उपलब्ध गराउन पहल गर्ने बताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राइले कार्यक्रमको सञ्चालन गर्दै भारत सरकारको सहयोगमा निर्माणमा अलपत्र परेका झापाको दक्षिणी क्षेत्रका विभिन्न भवनहरुकाmे बारेमा जानकारी गराएका थिए । राजदुत पुरी सगै उनकी श्रीमती नम्रता पुरी,काउन्सिलर पी.डी घिसिङ, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल लगायत रहेका थिए । काठमाडौवाट आएको टोलीलाई नेपालको सुरक्षाकर्मीले मेचीनदीको वाँसेपुल हुदै गलगलिया पठाएको थियो भने राजदुतको सुरक्षाको लागि भारतीय सुरक्षाकर्मी हतियारसहित मेचीनदीको विचमा आएर बसेका थिए ।