जाजरकोट । यहाँको भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाइ प्रभावित भएको छ ।
विद्यालयमा पठनपाठन भइरहेका बेला दैनिक छदेखि १० जनासम्म विद्यार्थी बेहोस हुँदा समस्या भएको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताउनुभयो । प्रअ शाहीका अनुसार भूत आयो भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन् ।
एक हप्तादेखि दैनिक बिरामी हुँदा कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर चिच्याउने र अचेत हुने गरेको शाहीले बताउनुभयो । अर्धचेत भएकाको बहुलाउने, चिथोर्ने, कराउने, हातखुट्टा लुलो हुनेलगायत लक्षण देखा परेको उहाँको भनाइ छ । बेहोसलाई एकान्तमा राखेको एकदेखि दुई घण्टापछि सामान्य अवस्थामा आउने शाहीले बताउनुभयो ।
घरमा केही नहुने तर विद्यालय पुग्नासाथ बेहोस हुने गरेको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर कार्कीले बताउनुभयो ।
भूतप्रेतकै कारण विद्यालयमा बालबालिका एक्कासि बेहोस पर्ने गरेको उहाँको भनाइ छ । विद्यालयमा भूतप्रेतको पूजा गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
पूजा नगरे बालबालिकाको ज्यान जाने खतरा बढेको उहाँले बताउनुभयो । दैनिक विद्यार्थी बेहोस हुने समस्या बढ्दै गएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर परीक्षणसमेत गराएको प्रअ शाहीले बताउनुभयो ।