पानवारी/ धरान–६ पानवारी स्थित सरस्वती माविको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोमबार विद्यालयको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा कार्यक्रमको आयोजना गरी अभिभावकहरुलाई मनोरञ्जनात्मक खेलकुद गर्नुका साथै साँस्कृतिक कार्यक्रम, तेकवान्दोको काटा प्रदर्शन लगायत विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई परस्कृत समेत गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षद्वय मेघराज खत्री र होमनाथ पराजुलीलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो ।

यसै वर्षको एसईई परिक्षामा उच्चतम अंक ल्याउने छात्र किरण आचार्य र सुनिता पराजुलीलाई नगद रु १ हजार ५ सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै गरी १२ कक्षामा उच्चतम अंक ल्याउने छात्र लिला धमला र छात्रा मिनाकुमारी राईलाई पनि जनही १ हजार ५ सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो । विद्यालयको तर्फबाट जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने कक्षा ८ का विद्यार्थी सौखिन आचार्य र जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने १२ कक्षाकी छात्रा समिक्षा राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए भने अभिभावकहरुलाई मनोरञ्जनात्मक तातो आलु खेल खलाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि जयकुमार राईले विद्यालयले हासिल गरेको उत्कृष्टतालाई उच्च सम्मान गर्दै अझ प्रगतीको कामना गरेका थिए । उनले यस विद्यालयका विद्यार्थीहरु जिल्लामै प्रथम स्थानमा आउनु र एसइइको नतिजा पनि राम्रो आउनुले विद्यालय उत्कृष्ट भएको प्रमाणीत गरेको बताउदै शिक्षाको महत्व सबैभन्दा ठूलो भएको बताएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले विद्यालयको आय व्यय तथा विद्यालयको भावि रणनीति प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर कटवालले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक चन्द्रप्रसाद काफ्लेले गरेका थिए ।