काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले अलग परिवेश र फरक जीवनशैलीका कारण सम्बन्ध बिच्छेद भएको स्पष्ट पारेका छन् । आफू र मीना ढकालसँगको सम्बन्ध बिच्छेदका बारेमा विभिन्न सञ्चार माध्यममा आएको खबरप्रति ध्यानाकर्षण भएको जनाउँदै मनोजले दुई दशक लामो सहयात्रालाई समझदारीमा टुंग्याएको स्पष्ट पारेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘हामी दुवै गतल होइनौँ, फरक रहेछौँ ।’
अलग परिवेश र फरक जीवनशैलीको कारणले वैवाहिक जीवनको सुरुदेखिनै सामान्य मतभेद रहेको गजुरेलले स्वीकार गरेका छन् । सकेसम्म मिलेर अगाडि बढ्न खोजे पनि जिवन्त बनाउन नसकेकोले नै छुट्टिने निर्णय भएको हो । मनोज गजुरेलको विवाह २०५३ सालमा भएको थियो । हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी¬)को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं ।
एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।
यो संवदनशिल घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।
अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस् ।