मोरङ/ मोरङको पथरीशनिश्चरेको शिक्षा क्षेत्रको सञ्चालन तथा व्यवस्थापनका लागि नगरपालिका कार्यालयले समिति निर्माण गरी योजना तर्जुमा गर्न जिम्मा लगाएको छ ।

माध्यामिक तहसम्मको शिक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय तहमा आएपछि नगर कार्यपालिकाको पछिल्लो निर्णयबाट नगर प्रमुख दिलिपकुमार राईको संयोजकत्वमा गठित नगर शैक्षिक व्यवस्थापन समितिको मंगलवार साँझ अवेरसम्म पहिलो वैठक चलेको थियो । वैठकले शिक्षा नियमावली मस्यौदा सहितका योजनाका लागि स्रोत व्यक्ति गणेश दहाल तथा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र टिकाप्रसाद दंगाल रहेको शिक्षा नियमावली मस्यौदा उपसमिति बनाएको हो ।

नियमावली वनाउने पूर्व तयारी स्वरुप राय सुझाव लिनका लागि फागुन ४ गते संस्थागत र ७ गते सामुदायिक विद्यालयतर्फका व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ । जसले नगरको शैक्षिक सुधार र शैक्षिक एकरुपता कायम गर्ने कुरामा समेत जोड दिने नगर प्रमुख एवम् शैक्षिक व्यवस्थापन समिति संयोजक दिलिपकुमार राईले जनाए ।

यसैगरी, वैठकले नगरका विद्यालयमा कक्षा थप अनुमतिको प्रक्रियाका लागि यो वर्ष १ र ९ वाहेकका कक्षाका लागि माघ मसान्तसम्म आवेदन लिने र फागुन अन्तिममा विद्यालय अनुगमन गरिने निर्णय समेत गरेको छ ।

आउनै लागेको कक्षा ८ को परीक्षा सञ्चालनका लागि नगर प्रमुख राईको संयोजकत्वमा ५ सदस्यीय उपसमिति चयन भएको छ । जसमा, स्रोत व्यक्ति गणेश दहाल, विद्यालय निरीक्षक दुर्गाप्रसाद सिग्देल, शिक्षक पदम सापकोटा र उपेन्द्र कंडेल रहनु भएको छ । सो उपसमितिले प्रश्नपत्र तयारीदेखि नतिजा सार्वजनिक गर्नेसम्मको कामका लागि विज्ञहरुको समिति निर्माण गर्ने जिम्मेवारी पाएको छ ।