शनिश्चरे/शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग ( युएनएचसीआर) ले लुथरन विश्व फेडेरेशन (एलडब्लुएफ) मार्फत मोरङको पथरीशनिश्चरेमा निर्माण भएका विद्यालय भवन सहितको अनुगमन् गरेको छ ।

युएनएचसीआर दमक सव अफिस प्रमुख अन्ना फेलोसीको अगुवाईमा लुथरनका पूर्वाञ्चल क्षेत्रीय कार्यक्रम संयोजक राजेन्द्र राउत तथा कारितास नेपालका प्रतिनिधि, नगरप्रमुख दिलिपकुमार राई, स्रोत व्यक्ति गणेश दहाल सहितको टोलीले वुधवार अनुगमन गरेको हो । टोलीले नगरको वडानम्बर १० को हिरक मावि, वडा नम्बर १ को सुनाखरी मावि र पञ्चायत माविमा अनुगमन गरेको छ ।

युएनएचसीआरको २२ लाख १८ हजार २ सय ५८, नगरपालिकाको ४ लाख ५० हजार, विद्यालयको ३ लाख ६२ हजार १ सय ४६ रुपैयांको लागतमा निर्मित हिरक माविको २ तले २ कोठे भवनको निर्माण भइरहेको छ । युएनएचसीआरको १९ लाख ४० हजार २ सय ९४ र नगरपालिकाको ४ लाख विद्यालयको ४ लाख २८ हजार ७५ रुपैयाँको लगानीमा सुनाखरी माविमा निर्मित कम्पाउण्ड वालको निर्माण कार्य सम्पन्न भएको छ । यी विद्यालयका साथै पञ्चायत माविमा कारितास नेपालले १० लाख १ हजार बढी रुपैयाँमा प्रदान गरेको २० थान कम्प्युटरको उपयोगिताको समेत टोलीले अनुगमन् गरेको छ ।

अनुगमनपछि नगरपालिका कार्यालयमा भएको संक्षिप्त भेटघाटमा नगर प्रमुख दिलिपकुमार राईले युएनएचसीआरबाट नगरको विकासमा निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका थिए । जवाफमा यूएनएचसीआर प्रमुख फेलोसीले आफ्नो कार्यालयको कार्यक्रमको अवस्था अनुसारको सहयोगको निरन्तरता रहने आश्वासन दिइन् ।