रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ । मृगौलामा प्राेटिन चुहिनु, मृगौलाको काम अनियमित भएमा मधुमेह सम्बन्धि मृगौला रोग लागेको बुझ्नुपर्छ । मृगौलामा प्रोटिन चुहिने समस्यालाई मेडिकलको भाषामा एल्बुमिन बढी भएको भन्ने गरिन्छ ।
लामो समयसम्म मधुमेह नियन्त्रण भएन भने मृगौलामा समस्या आउँछ र बिस्तारै प्रोटिन चुहिने समस्या आउँछ । यो दीर्घरोग हो । मधुमेह लागेका बिरामीलाई मृगौला रोग लागेपछि पूर्ण रुपमा निको हुँदैन । बेलैमा उपचार गरिएन भने मृगौलाले काम गर्न छोड्छ र बिरामीको ज्यान जान्छ । उपचार गरेर यसलाई नियन्त्रण राख्न सकिन्छ ।
मधुमेह भएको बिरामीको मृगौलामा समस्या आउन कति समय लाग्छ ? मधुमेहको लक्षण देखाएको कम्तीमा १० वर्षपछि मात्र मृगौलामा समस्या देखा पर्छ । मधुमेह पहिचान गर्न ढिला भएको खण्डमा भने बिरामीले चाडैँ नै ज्यान गुमाउने जोखिम हुन्छ । त्यसैले मधुमेहको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गरिहाल्नुपर्छ ।
मधुमेहको लक्षण
- धेरै तिर्खा लाग्ने, मुख सुख्खा हुने,
- पिसाब बढी लाग्ने,
- तौल घट्ने,
- थकाई लाग्ने,
- घाउ निको नहुने,
- आँखा धमिलो हुने,
- हातखुट्टा झम झम हुने, पोल्ने ।
मधुमेह सम्बन्धि मृगौला रोगको लक्षण
- हातखुट्टा, मुख सुन्निनु
- रगतमा हेमोग्लोबिनको मात्रा कम देखिनु
- आँखा सेतो देखिनु
- वाकवाकि लाग्नु
- कहिलेकाहीँ पेट दुख्नु
मधुमेहको बिरामीलाई यस्ता समस्या देखा पर्छन्
- ७० प्रतिशतलाई मुटुको समस्या
- मृगौलामा समस्या
- आँखामा समस्या
- स्नायुमा समस्या
सबै मधुमेहको बिरामीलाई मृगौलामा समस्या हुँदैन
- खानेकुरामा नियन्त्रण
- रक्तचापमा नियन्त्रण
- नियमित आधा घण्टा व्यायाम गर्ने
- तेलमा तारेको नखाने
- रातो मासु, चिनी भएको खाना नखाने
- धुम्रपान, मद्यपान नगर्ने
- दिनमा ५ पटक खाने
उपचार
- रगतमा चिनीको मात्रा नियन्त्रण गर्न इन्सुलिन दिने
- प्रोटिन नचुहिने औषधि
- प्रोटिन कम भएको खानेकुरा खानदिने
बिरामीले के गर्ने ?
- नियमित स्वास्थ्य परिक्षण गर्ने
- रगत, मृगौलाको परिक्षण गर्ने
- रक्तचाप नियन्त्रण
- मोटोपन नियन्त्रण
- सन्तुलित भोजन गर्ने
- मुटुको चाल बढ्ने गरी, पसिना आउने गरेर आधा घण्टा व्यायाम नियमित गर्नुपर्छ ।