पानवारी । सहिद स्मृति माविमा कम्प्युटर शिक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सञ्चालित महायज्ञमा आर्थिक सहयोग जुट्न सुरु भएको छ । बुधबारबाट सुरु भएको महायज्ञमा ७ लाख ५० हजार भन्दा बढि रकम सहयोग प्राप्त भएको छ । अहिलेसम्म सहिद स्मृति माविको विद्यालय शिक्षक संगठनले ५ लाख ५० हजार ५ सय ५५, चैनपुर–४ निवासी इन्दु नेपाल योञ्जन र उनकी श्रीमती रेखा तामाङले १ लाख ५० हजार र श्री मनराम फाउण्डेशन काठमाडौंका संरक्षक मनमाया श्रेष्ठले ५० हजार १ सय ११ रुपैया सहयोग गरेका छन् । त्यस्तै गरी धरान–१५ निवासी शुक्ला लिम्बू राईले ११ हजार एकसय एकाउन्न, धरान–८ निवासी चन्द्रबहादुर थेबेले ११ हजार एकसय, धरान–८ कै चक्र बदहाुर÷लिला गुरुङले ११ हजार १ सय, त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पौडेलले तुलादान सहित ११ हजार एकसय सहयोग प्रदान गरेको प्रचार संयोजक बोधराज कुवरले जानकारी दिएका छन् । महायज्ञबाट १ करोड आर्थिक संकलन गरी विद्यालयलाई कक्षा ११ र १२ मा स्तरोन्नती गर्ने तथा कक्षा ९ देखि कम्प्युटर विषयमा प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको समेत कुवरले जानकारी दिएका छन् । महायज्ञ माघ १७ गतेसम्म चल्नेछ भने भागवत कथा वाचन प्रसिद्ध कथा वाचक पं. योगश भण्डारीले गरिरहेका छन् । २०१४ सालमा स्थापना भएको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा वेसहारा, असहाय, आश्रित बालबालिकाहरुको बाहुल्यता छ । विद्यालयमा धेरैजसो निम्न आय स्तर भएका समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।