सिरहा/ सिरहाको गोलबजार नगरपालिका-४ स्थित जनता उच्च माध्यमिक विद्यालयले प्राविधिक शिक्षा निःशुल्क पढाउने भनिए पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न सुरु गरेको छ। निःशुल्क शिक्षा भनिए पनि विद्यालयले शुल्क उठाउन सुरु गरेपछि विद्यार्थीले विरोध गरेका छन्।

प्राविधिकतर्फ कक्षा १२ मा अध्ययनरत विद्यार्थी जितेन्द्र सिंहले सरकारले प्राविधिक शिक्षा निःशुल्क पढाउने घोषणा गरेपनि विद्यालयले शुल्क माग्न थालेपछि समस्यामा परेको बताए। उनले भने, ‘कक्षा ९ र १० मा पैसा लिएन। ११ मा १३ हजार लियो। अहिले १२ को फारम भर्न १५ हजार रुपैया नबुझाए फारम नबुझ्ने बताएको छ।’

कक्षा १२ मै अध्ययनरत विद्यार्थी कृष्णा साहले वर्षभर पैसा नमागेको र अहिले परीक्षा फारम भर्ने बेलामा एकमुष्ट रकम मागेको गुनासो गरेका छन्। उनले निःशुल्क शिक्षाको नाममा विद्यालयले हामी गरिब विद्यार्थीलाई ठग्न सुरु गरेको बताए। ‘हामी गरिब विद्यार्थी कहाँबाट यति धेरै रकम तिर्ने ?,’ प्रश्न थप प्रश्न गरे, ‘पढाइबापत पैसा नै लिन्छन् भने सरकारले किन निःशुल्क भनेको ?’

विद्यालयले निःशुल्क पढाउन नसकेको बताउँदै वार्षिक कक्षा ९ र १० का विद्यार्थीबाट १०/१० हजार, कक्षा ११ का विद्यार्थीबाट १३ हजार र कक्षा १२ का विद्यार्थीबाट १५ हजार रुपैयाँ असुल्न सुरु गरेको हो। राज्यले पठाउने अनुदान पर्याप्त नहुँदा र विद्यालय नै बन्द हुने अवस्थामा पुगेको कारण बाध्य भएर विद्यार्थीबाट शुल्क उठाउन सुरु गरिएको प्रधानाध्यापक भक्तबहादुर रायले बताए।

राज्यको अनुदानबाट गुणस्तरी शिक्षा दिन नसक्ने प्रधानाध्यापक राय बताउँछन्। उनी भन्छन्, ‘दुई वर्ष कुनै विद्यार्थीबाट एक पैसा पनि लिएनौं। तर पछि गाहे भयो। अनुदानको रकमले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सक्ने अवस्था रहेन्। बाध्य भएर अभिभावक र विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर विद्यार्थीबाट शुल्क उठाउने निर्णय गरेका छौं।’

सहायक प्रधानाध्यापक सुरेन्द्र सिंहले राज्यले निःशुल्क घोषणा गरेको तर थोरै अनुदान रकम पठाउँदा समस्या सृजना भएको गुनासो गरेका छन्। उनले अभिभावक र व्यवस्थापन समितिकै भेलाबाट भएको निर्णयअनुसार शुल्क लिन सुरु गरेको बताउँदै भ्रष्टाचार गर्न शुल्क नउठाएको बताए। विद्यार्थीबाट शुल्क लिएर भ्रष्टाचार गरेको छ भने कारबाही हुनुपर्छ, उनले थपे।

‘शुल्क लिन सुरु गरेको कुरा अख्तियारसम्म पुगेको छ’, उनले भने, ‘एउटा टोली निरीक्षण समेत गरेर फर्किसकेको छ। उनीहरुले सबै कुरा बुझ्दा शुल्क उठाउनु गलत नभएको भनेका छन्।’ अतिरिक्त कक्षा संचालन, प्राक्टिकल, कोचिङ र फिर्ल्डट्रिपवापत विद्यार्थीबाट शुल्क लिने गरेको सिंहले बताए।