बेलबारी/ मोरङको बेलबारी १ स्थित श्री शहिद स्मृति आधारभूत विद्यालयको ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवश कार्यक्रम मंगलवार सम्पन्न भयो । वार्षिक उत्सवको अवशरमा विद्यालय तथा विद्यालयका विद्यार्थीहरुलाई दातृसंस्थाहरु प्राप्त पोशाक तथा स्कुल ब्याग वितरण भएको छ ।

मदनभण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीले विद्यालयका सबै विद्यार्थीहरुलाई पोशाक तथा बाढी पीडित विद्यार्थीहरुलाई स्वीटर वितरण उपलब्ध गराएको छ । त्यसैगरी कुसुमे साईनिङ क्लवले विद्यालयका वालकक्षाको लागि २० हजार बराबरको खेलौना प्रदान गरेको छ । प्रवासमा रहेका कुसुमे देवीझोडा सरोकार मञ्चले बाढी पीडित वालवालिकाहरुलाई स्वीटर, बाढी पीडितहरुलाई बाट उपलब्ध गराएको छ ।

त्यसैगरी समाजले बाढी पीडितहरुलाई एक एक थान खाट पनि उपलब्ध गराएको छ । युवा समाजसेवी नरमान राईले दुईवटा सिलिङ फेन र पदम कार्कीले एक थान प्रिन्टर विद्यालयलाई प्रदान गरेको छ । साथै सर्वध्वज लिम्बू र रत्नबहादुर स्मृति अक्षयकोषबाट विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कार्कीले विद्यालयको स्थानान्तरको लागि समितिद्धारा पारित गरिएको निर्णय अभिभावक समक्ष प्रस्ताव पेश गरेको थियो । विद्यालयलाई साविक बेलबारी १ बाट केराबारी ९ मा ल्याउन अभिभावकहरुले यस्तो निर्णय गरेको हो । विद्यालय स्थानान्तर सम्वन्धि नीति नियम बुझेर यस प्रक्रियालाई अगाडि बढाउने निर्णय भएको छ । उपस्थित अभिभावकहरुबाट समितिद्धारा पारित निर्णयको अनुमोदन समेत गरेको छ ।

शुरुमा विद्यालय केराबारी ९ मै स्थापना गरिएको थियो । तर विद्यालय दर्ता गर्ने क्रममा केराबारी ९ मा सामुदायिक विद्यालय धेरै भएको हुँदा बेलबारीमा दर्ता गर्न केराबारी स्थित वुद्ध माविका प्रअ घनश्याम गौतमको सुझाव र विद्यालय सिफारिसको आधारमा विद्यालय बेलबारीमा दर्ता गरिएको थियो । सो विद्यालयलाई केराबारी ९ मा स्थानान्तरणका लागि विद्यालयले बेलबारी नगरपालिकामा पत्राचार समेत गरिसकेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले सबैजनाको सहमति बन्न सकेको खण्डमा विद्यालयलाई केराबारी गाउँपालिकामा स्थानान्तर गर्नका लागि आफू तयार भएको बताएका छन् । त्यसैगरी उपाध्यक्ष शान्ति लिम्बूले विद्यालयको विषयमा आफू भरखर मात्र जानकार भएको हुँदा अभिभावकको निर्णयमा आफ्नो पनि सहयोग रहने बताएकी छिन् ।

कार्यक्रममा बोल्दै बेलबारी वडा नं. १ का वडाध्यक्ष चक्र खुलालले ‘अभिभावकहरुको माग जायज छ , विद्यालय हस्तान्तरणका लागि केराबारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले पक्रियागत रुपमा हस्ताक्षर गरेर ल्याएको कागजमा म सही गर्न तयार रहेको बताएका छन् ।’

त्यसैगरी कार्यक्रममा श्रोत व्यक्ति प्रेम कार्की , बेलबारीका समाजसेवी केराबारी ८ का वडाध्यक्ष मनोज खड्का,तिलक प्रसाद राई , मदनभण्डारी स्मृति प्रतिष्ठानका रुद्र तामाङ, सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भीम कार्कीले मन्तव्य राखेका थिए । समुहले विद्यालयलाई २२ हजार रकम तत्काल सहयोग गर्ने घोषणा पनि गरेको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोति सिन्चौरीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । सोही कार्यक्रमको अवशरमा विद्यालयलाई विभिन्न संघसंस्थाले सहयोग प्रदान गरेको थियो । कार्यक्रममा अभिभावकहरु बीच विभिन्न खेलकुदको कार्यक्रमको आयोजना गरिएको थियो ।