ब्रेक फेल भएको गाडीमा सवार स्कुले नानीहरुलाई सुरक्षित जोगाउने चालकलाई के गरिन्छ ? निश्चय नै सम्मान।
शुक्रबार काठमाडौँको गोठाटारस्थित हरहर महादेवमा यस्तै घटना भयो। चालक छत्र कार्कीले आफ्नो बुद्धिमताले स्कुले नानीहरुको जीवन जोगाएर स्थानीय र अभिभावकबाट स्याबासी पाए। तर उनको खुसी लामो समय टिक्न पाएन।
दुर्घटनाको केही समयपछि आएको प्रहरीले सोही गाडी हाँकेर चौकीमा हिँड्न भनेपछि उनी आत्तिए। नानीहरुलाई जोगाउँदै अभिभावकको जिम्मा लगाउँदै गरेका कार्की फेरि ब्रेक फेल भएको गाडी हाँक्न बाध्य भए।
प्रहरीले सुरुमा कार्कीलाई बोलाएर ठोक्किएको ठाउँबाट गाडी निकाल्न भन्यो। चालकले ब्रेक छैन कसरी निकाल्ने भनेर सोधे। प्रहरीले ‘हामी छौं, निकाल’ भन्यो। अँध्यारो मुख लगाएर गाडीमा उक्लेका उनले बल्लबल्ल ब्याक गरे। प्रहरीले अगाडि लैजान भन्यो। चालक डराए। ‘ब्रेक छैन, कसरी अगाडि जाने,’ उनले अघिकै कुरा दोहोर्याए। प्रहरीले फेरि भन्यो ‘हामी छौं।’
भर्खरै मात्र नानीहरुको जीवन जोगाएर सन्तोषको सास फेरेका कार्कीको चल्तीको मुल सडकमा ब्रेक फेल भएको गाडी पुनः कुदाउन बाध्य भए। प्रहरीको एउटा भ्यान अगाडि लाग्यो। दुई प्रहरी पछिपछि कुदे। जोखिमपूर्ण तरिकाबाट गाडि अगाडि बढ्यो । दृश्य नियाल्दा लाग्थ्यो– सडकमा मात्तिएको जंगली हात्ती कुदिरहेछ।
केही पर पुगेपछि घुम्ती आयो। घुम्तीमा बाटो ओरालो थियो। कार्कीले ‘त्यता त लान मिल्दैन’ भने। प्रहरीले फेरि ‘हामी छौं’ भने। कार्की डराए। प्रहरीले अगाडि बढ्न आदेश दियो। कार्की अँध्यारो अनुहार लगाउँदै ओरालोमा बढ्दै थिए। गाडी गएर मासुपसलमा ठोक्कियो। कार्कीलाई सामान्य चोट लाग्यो।
प्रहरीले फेरि गाडी अगाडि बढाउन भन्यो। कार्की झनै डराए तर रोकिन पाएनन्, अगाडि बढे। दुई प्रहरी हातमा ढुंगा लिएर पछाडि कुदिरहे। ‘अलिकति मात्र फेल भएको ठानेका थियौं,’ गाडीको अगाडि कुद्दै गरेका ट्राफिक हबल्दार रामसिंह भण्डारीले भने, ‘पूरै फेल रहेछ।’
नागरिक दैनिक