ललितपुरमा रहेको महालक्ष्मी नगरपालिकाले शिक्षकको तलब आफैँ वितरण गर्न थालेको छ।

संविधानको अनुसूची ८ बमोजिम स्थानीय तहको शिक्षाको अधिकार कार्यान्वयन गर्दै नगरपालिकाले आफ्नो नगरक्षेत्रका शिक्षकको तलब वितरण गर्न थालेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। नगरपालिकामा शिक्षा विभाग गठन भएसँगै मंसिरदेखि नै नगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकको तलब वितरण गर्न थालिएको मेयर श्रेष्ठको भनाई छ।

विभागका प्रमुख उपसचिव मित्रप्रसाद काफ्लेले नगरक्षेत्रभित्रका १५ विद्यालयका १०२ शिक्षकलाई नगरपालिकामार्फत लतब वितरण गर्न थालिएको बताए। चौमासिक रुपमा तलब पाउँदै आएका शिक्षकलाई नगरपालिकाले मासिक रुपमा तलब दिन थालेको हो। हामीले चौमासिक रुपमा दिँदै आएको तलबलाई मासिक रुपमा दिन थालेका छौँ, मेयर श्रेष्ठले भने, शिक्षक पनि मासिक रुपमा तलब पाउन थालेपछि खुशी भएका छन्।

नगरपालिकाले सम्बन्धित शिक्षकको व्यक्तिगत खातामा तलब पठाउने गरेको महेन्द्रग्राम मावि टीकाथलीका प्रधानाध्यापक भरतबहादुर खनालले बताए।

यसैबीच नगरपालिकाले कक्षा ८ को परीक्षाको तयारी गरेको छ। मन्त्रालयले कक्षा ८ को परीक्षा नगरस्तरमा गर्ने भनेपछि तयारी गरिएको उपसचिव काफ्लेले जानकारी दिए। परीक्षा सञ्चालनका लागि परीक्षा सञ्चालन, व्यवस्थापन र नियमन कार्यविधि २०७४ तयार पारिएको छ।