मोरङ/ आफन्त कोही नभएर झापाको दमकमा बृद्ध आश्रममा वस्दै आएकी एक असहाय ज्येष्ठ महिलालाई नगरपालिका कार्यालय र संघ संस्थाको पहलमा नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ ।
दमक ४ स्थित रत्नबृद्धाश्रममा विगत अढाई वर्षदेखि वस्दै आएकी ७२ बर्षिया सुकमाया तामाङले पटक पटक पहल गर्दा पनि नबनेको नागरिकता यसपटक इलाका प्रशासन कार्यालय दमकबाट बन्न सफल भयो । लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहल र नगरपालिका कार्यालयको सक्रियतामा आइतवार नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो । वेसहारा एवम् असहायलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको दमकको यो पहिलो घटना हो ।
नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नागरिकता दिलाएर सामाजिक सुरक्षा भत्ता वैंकमार्फत बृद्धाश्रममा नै पुर्याउने ब्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि नागरिकताका आवश्यक कागजी प्रक्रिया मिलाइएको थियो ।
बृद्धाश्रममा रेखदेखकर्ता रीता सुनुवार सहितका तामाङलाई पहिलेदेखि नै जानिवुझ्ने स्थानीयहरुले सनाखत गरेका र नगरपालिका उपप्रमुख गीता अधिकारी, वडा सदस्य मिना विश्वकर्मा, लायन्सकर्मीहरु मनोज अग्रवाल, बुद्धिशेखर भट्टराइ, नगरपालिकाका कर्मचारी दलबहादुर खत्री रोहवरमा बसेर नागरिकता प्रदान गरिएको हो ।
इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले यस्ता नागरिकलाइ नागरिकता दिन अत्यन्त असहज र अप्ठेरो रहेको बताएको अवस्थामा सामाजिक एकतामा कानूनी प्रक्रिया पुरा गरी नागरिकता प्रदान गरिएको छ । नागरिकता भएर पनि छैन भन्न सक्ने र आफन्तहरु नभेटिने समेत समस्याले कानूनी अप्ठेरोमा परिने कर्मचारीको त्रासलाई जनप्रतिनिधिहरु नै रोहबरमा बसेर सहज वातावरण बनाइदिए ।
मानसिक हिसावले समेत तनावग्रस्त तामाङको निकै वर्ष अघि श्रीमान विते । ३ छोरी पनि वितेपछि उनै वैरागीजस्तै बनिन् । जे जस्तो पीडा भएपनि उनले खानका लागि दमकका होटलहरुमा भाँडा माझ्दै दिन कटाउँदै गइन् । तर बुढेसकाल लागेर भाँडा माझ्न पनि नसकेपछि उनलाई स्थानीयले बृद्धाश्रम पुर्याइदिएका थिए । ‘अव मैले भत्ता लिन पाउने भएँ । केही खानेकुरा किनेर खान र लुगा लाउन अव पैसा थाप्छु ।’– नागरिकता पाइसकेपछि रुन्चे स्वरमा उनले यसरी खुसीका कुरा भनिन् ।
लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम, तृतिय उपाध्यक्ष मनोज अग्रवाल, लायन्सकर्मी बुद्धिशेखर भट्टराइ, तिर्थनारायण श्रेष्ठ, सवाल नेपालका सम्पादक विष्णुप्रसाद पोखरेल सहितको टोली त्यहाँको बृद्धाश्रममा खाद्य सामग्री सहितको राहत प्रदान गर्न जाने क्रममा तामाङ नागरिकता नरहेको भन्दै रोएकी थिइन् । आफूले पाउने सामाजिक सुरक्षा भत्ता पाउन बञ्चित रहेको भन्दै भक्कानिएपछि नागरिकता दिलाउनका लागि प्रयास शुरु भएको थियो ।
अध्यक्ष गौतम र नगरपालिकाका इन्जिनियर समेत रहेका लायन्सकर्मी श्रेष्ठले आफूहरुले नागरिकता दिलाउन पहल गर्ने भन्दै आश्वासन दिएर फर्किएका थिए । त्यो कुरा दमक नगरपालिकाका प्रमुख ओली, उपप्रमुख अधिकारी, प्रमुख प्रशासकिय अधिकृत युवराज दाहाल लगायतलाइ जानकारी गराएका थिए । सो लगत्तै उपप्रमुख अधिकारीले तत्कालै आवश्यक कागजपत्र जुटाउन नगरपालिकाको सम्बन्धित फाँटमा निर्देशन दिएर नागरिकता दिलाउनका लागि प्रयास शुरु गरेकी थिइन् ।
२ साताको पहलमा आवश्यक कागजीय प्रक्रिया पुरा गरी एकजना असहायको मन खुसी पार्ने काम भएको नगर उपप्रमुख अधिकारीले भनिन् ‘ यस्तै समस्या भोग्दै आएकाहरुको मर्म बुझ्नु त हामी जनप्रतिनिधिको काम हो । यो कामले मलाई निकै सन्तुष्टि मिलेको छ ।’