मोरङ/ मोरङको पथरीशनिश्चरे २ मा सामाजिक अगुवाहरुको सक्रियतामा कृषि उद्यम सञ्चालनको बृहत योजना सहित चौतारी वहुउद्धेश्यीय कृषि समूह अन्तर्गतको कृषि फर्म शिलान्यास भएको छ ।

एक कार्यक्रमकाबीच नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितले फर्मको पाडा गोठको खाँवा गाडेर फर्मको शिलान्यास गरेका छन् । उपप्रमुख विष्टले कृषि तथा पशुपालन क्षेत्रको प्रवद्र्धनमा नगरपालिका कार्यालयले पनि सक्दो सहकार्य र सहयोग गर्ने जनाइन् ।

पथरीशनिश्चरे र उर्लाबारी क्षेत्रका कृषि उद्यमीहरुलाई समेटिएको अभियानमा हालसम्म १ सय ३८ जना शेयर सदस्य वनेको कार्यक्रमका सल्लाहकार तिलक वान्तवाले जनाए । उनले पुरानो व्यवसायलाई नयाँ तथा प्राविधिक ढंगले सञ्चालन गरेर युवा पुस्तालाई आकर्षण गराउने योजना रहेको सुनाए ।

५ हजारदेखि ५० हजार रुपैयाँसम्मको शेयर रकम तोकिएकोमा हालसम्म १७ लाख ९३ हजार रकम जम्मा भएको छ । कम्तिमा पनि १ करोड शेयर रकम बनाएर नमूना व्यवसाय सञ्चालनको लक्ष्य रहेको फर्मबाट पहिलो चरणमा मासुजन्य व्यवसायका रुपमा भैंसीको पाडा पालन कार्य थालिने समूह अध्यक्ष रत्नवहादुर वस्नेतले उल्लेख गरे । त्यसपछि माछा, कुखुरा, वंगुर पालनका कार्यक्रम अघि बढाइने समूहको योजना रहेको छ ।