विराटनगर/१ नम्बर प्रदेशमा राष्ट्रियसभाको निर्वाचन विराटनगरमा रहेको विरेन्द्र सभागृहमा भइरहेको छ ।
निर्वाचन कार्यालयका अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजेसम्मका लागि समय तोकिएको छ । दिउँसो १२ः५० बजेसम्म ९१ जना प्रदेशसभाका सांसदले भोट खसालेका छन् भने २ सय ४० जना स्थानीय तहका प्रतिनिधिले मतदान गरेका छन् । प्रदेशसभाका ९३ जना सांसद हुन् भने स्थानीय तहका २ सय ७४ जना छन् ।
प्रदेशसभामा संघीय लिम्बुवान मञ्चलका एक सांसद विष्णु तुम्बाहाम्फेले भने मतदान नगर्ने जानकारी दिइन् । उनले फोन सम्पर्कमा भनिन्, ‘हाम्रो पार्टीको उम्मेदवार नभएको र कसैले भोट समेत नमागेकोले मतदान नगरेको हो ।’
यस्तै माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङले पनि अहिलेसम्म मतदान गर्न नआएको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए । राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना सांसद भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने २ जना सांसदका लागि निर्वाचन भएको हो ।
अपांगता भएका वा अल्पसंख्यकबाट बाम गठबन्धनका अगमप्रसाद बान्तवा राई र कांग्रेसका महेश जाजु, यस्तै दलितबाट बाम गठबन्धनका तर्फबाट खेम नेपाली र कांग्रेसका तर्फबाट विन विश्वकर्माले प्रतिस्पर्धा गर्दै छन् । बहुमतीय प्रणालीबाट निर्वाचित हुने भएको कारण गठबन्धनका दुवै उम्मेदवारले जित्ने आँकलन गरिएको छ । प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ ।