मोरङ/ उस्तै उस्तै समस्या । उस्तै उस्तै सम्भावना । प्राकृतिक स्रोत र साधनको पहिचान गरी त्यसबाट प्रसस्त लाभ लिन सकिने अवस्था समेत छ । समस्या समाधानको मात्र होइन सम्भावनाको समेत सहकार्यका लागि उत्तरपूर्वी मोरङका स्थानीय निकायले आपसी समन्वयको प्रक्रिया अगाडि बढाएका छन् ।

जिल्लाको पूर्वी सिमानाको उर्लाबारी नगरपालिकादेखि सुनसरीसंग जोडिने पश्चिमको सिमानाका रुपमा रहेको सुन्दरहरैंचा नगरपालिका तथा उत्तरमा धनकुटा, पाँचथर तथा इलामसम्म जोडिने जिल्लाका ९ वटा स्थानीय तहका निकायको समन्वय समिति खडा भएको छ । जसमा, पथरीशनिश्चरे, उर्लाबारी, सुन्दरहरैंचा, लेटाङ, वेलबारी नगरपालिका तथा मिक्लाजुङ, कानेपोखरी, केरावारी र ग्रामथान गाउँपालिका आवद्ध छन् ।

पूर्वपश्चिम मुख्य सडक आसपासको सुगमता र उत्तरी पहाडी क्षेत्रका विकटतासँगै प्राकृतिक स्रोत र साधनको सम्भावना रहेका यी निकायहरुले आफ्ना साझा सरोकार तथा साझेदारीका विषयमा समान सहकार्य गर्ने उद्धेश्य वनाए । जस अनुरुप नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष सम्मिलित माघ २२ को भेलाले स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा ११, उपदफा २ ‘ठ’ ४ को प्रावधानमा रहेर ‘अन्तर स्थानीय तह संयुक्त समन्वय समिति’ खडा गर्यो । संयोजकमा वेलवारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र अरु नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरु सदस्य रहने स्वरुप वनाइएको छ ।

‘यी क्षेत्रका हाम्रा समस्या र सम्भावनालाई केलाएर समृद्ध स्थानीय तह निर्माणको साझा अभियान सञ्चालन गरी स्थानीय तह दर्विलो वन्ने आधार खोजेका हौं ।’– समिति संयोजक ज्ञानेन्द्र सुवेदीले भने । पथरीशनिश्चरेका प्रमुख दीलिपकुमार राईले पनि यो सहकार्यलाई मूर्त रुपमा कार्यान्वयन गर्न सके उत्तरपूर्वी मोरङले चौतर्फी उन्नतीको नमूना पेश गर्न सक्ने सुनाए ।

साझा सरोकार तथा साझेदारीका विषय अध्ययन गरी सुझाव प्रस्तुत गर्न वेलवारीका प्रमुख प्रशासकीय अधिकृत गणेश दहाल संयोजक रहने गरी प्रमुख प्रशासकीय अधिकृतहरुको समिति गठन गरिएको छ । कार्यदलले विभिन्न साझा सुझावहरु संकलन गर्न थालेको पथरीशनिश्चरेका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले जनाए ।

उनले फोहोरमैला व्यवस्थापन र प्रशोधन, दमकल तथा एम्वुलेन्स सेवा सञ्चालन, ठूला पूर्वाधार योजना, शिक्षाको पाठ्यक्रम निर्माण र सञ्चालनमा एकरुपता, राजस्व करमा एकरुपता, वातावरण संरक्षण, एकीकृत पर्यटन क्षेत्रको प्रवद्र्धन, अन्तर स्थानीय तह यातायात सञ्चालन सहितका विषय उठान हुँदै गरेको सुनाए । ‘हामीले चैतभित्र साझा सरोकार र साझेदारीका विषय टुंग्याएर सोही अनुरुपका आआफ्ना तहमा नीति, कार्यक्रम र वजेट बनाउनुका साथै माथिल्लो तहमा कार्यक्रम माग्ने योजना हो ।’– उनले भने ।

९ वटा तहका लागि पर्यटन प्रवद्र्धनको ठूलो सम्भावना रहेको मिक्लाजुङ र जेफाले डाँडो छ । यसका साथै मिक्लाजुङको चुलीपोखरी, सुन्दरहरैंचाको गोकुलम, गोकर्ण रिसोर्ट, हँसिना सिमसार, वेलवारीको वेतना सिमसार, कानेपोखरीको पोखरी, लेटाङको धेरै प्रजातिको सुनाखरी समेत पाइने राजारानी पोखरी, जाँतेको झर्ना, उर्लावारीको वेतिनी सिमसार, पथरीशनिश्चरेका विभिन्न सिमसार पर्यटन प्रवद्र्धनका आकर्षकस्थल छन् । धार्मिक पर्यटनका स्थलहरु छन् ।

यसका साथै जडिवुटी, वन, जलस्रोत, खोलाजन्य वस्तुको निकासी जस्ता महत्वपूर्ण आर्थिक सवलताका पक्ष यहाँ छन् । पूर्वपश्चिम मुख्य सडक सहितका सडक सञ्जालसँग उद्योग, कलकारखाना, व्यापार, सहकारी सहितका क्षेत्र सम्भावनाका स्रोत हुन् । यसले उत्तरमा पहाडी क्षेत्रको कृषिजन्य वस्तु तल झार्ने, यहाँका उत्पादन माथि उकाल्ने तथा दक्षिणमा भारतसम्मको निर्यातमा समेत महत्वपूर्ण आधारशिविर वन्ने समितिले ठहर गरेको छ ।

योजना निर्माणको शिलशिलामा पछिल्लो पटक शैक्षिक व्यवस्थापन कार्यविधि निर्माण गर्न वेलवारीमा वैठक वसेर छलफल भएको छ । नगर तथा गाउँपालिकास्तरीय शिक्षा ऐन तथा नियमावली वनिनसकेको अवस्थामा गर्नु पर्ने शैक्षिक व्यवस्थापनका कार्यविधिमाथि छलफल भयो । परीक्षा सञ्चालन, कक्षा अनुमति सहितका विषयमा कार्यविधि वनाइसक्न फेरिको वैठकले निर्णय गर्ने बुझिएको छ ।