मोरङ/ तेस्रो मुलुक पूनर्वासमा नगएर झापा तथा मोरङ्गका शिविरमा रहिरहेका भूटानी शरणार्थीहरुका लागि हालको भन्दा बलिया छाप्रा निर्माण गर्ने प्रक्रिया थालिएको छ ।

तेस्रो मुलुक पुनर्वास कार्य वन्द भएपछि झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा रहेका ७ हजार ५ सय हाराहारीका भूटानी शरणार्थीका लागि ५ सय ६५ नयाँ छाप्रा निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । निर्माणका लागि सर्भेक्षण गर्दै आवश्यक सामग्री जुटाउने कार्य भइरहेको शिविर व्यवस्थापन समिति बेलडाँगीका सचिव टिकाराम रसाईलीले जनाए ।

छाप्रा बनाउँनका लागि बेलडाँगी २ विस्तारितको उत्तरी क्षेत्रमा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर ) को टोली सहित शिविर व्यवस्थापन समितिले सर्वेक्षण गरेर प्रक्रिया थालेको उनले वताए । रसाईलीका अनुसार छाप्रा २ फिटसम्मको उचाइमा इटा र सिमेन्ट प्रयोग गरी सिमेन्टको पोल प्रयोग गरेर टिनको छाना र बाँसको वेराले निर्माण गर्ने तयारी भएको बताइएको छ ।

छाप्रा निर्माणका लागि सर्वेक्षण गरिएको क्षेत्रमा परेका पुराना छाप्राहरु समेत हटाएर पहिलेको भन्दा व्यवस्थित छाप्रा बनाइने भनिएको पथरीशनिश्चरे शिविर सचिव चम्पासिंह राईले उल्लेख गरेका छन् । पथरीशनिश्चरेमा १ हजार ३ सय शरणार्थी रहेका छन् । त्यहाँ दर्ता छुटेकाको संख्या १ सयको हाराहारी रहेको राईको अनुमान छ ।

सन् २०१८ भित्रमा निर्माण सक्ने योजना रहेको ५ सय ६५ मध्ये २ सय छाप्रा असक्तका लागि बनाइने विश्व लुथरन फेडेरेशन शरणार्थी शिविर प्रतिनिधि एलएन तिम्सिनाले बताए । युएनएचसीआरको आर्थिक व्यवस्थापनमा लुथरनले शरणार्थीको आवासको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।