विराटनगर / मग गणना भएको ४५ मिनेटमा प्रदेश १ को राष्ट्रियसभाको मत परिणमा सार्वजानिक भएको छ । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा १ नम्बर प्रदेशका दुबै सिटमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
खुल्ला र महिलातर्फको ६ पदमा यसअघि नै निर्बिरोध भएपछि दलित र अपांगता भएका वा अल्पसंख्यक कोटामा गरिएको निर्वाचनमा दुबै पद बाम गठबन्धनले जितेको हो ।
मत परिणाम अनुसार राष्ट्रियसभा सदस्यमा दलिततर्फ बाम गठबन्धनबाट एमालेका खेम नेपाली ६ हजार २ सय ७० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बिन विश्वकर्माले २ हजार ८ सय ३२ मत प्राप्त गरे । सो पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेश सांसद १ जनाको मत बदर भएको छ । बदर भएको जनप्रतिनिधिको मतभार २१० रहेको छ ।
यस्तै अपांगता भएका वा अल्पसंख्यकमा पनि बाम गठबन्धनबाट एमालेकै अगमप्रसाद बान्तवा राई बिजयी भए । राईले ६ हजार १ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८ सय ९८ मत प्राप्त गरे । यो पदमा स्थानीय तहका १० र प्रदेशसभा सांसद २ जनाको मत बदर भएको छ । बदर मतभार २७६ छ ।
अपरान्ह ३ बजेसम्म मतदान भएपछि ४ बजेबाट सुरु गरिएको मतगणना ४५ मिनेटमै सकिएको थियो । १ नम्बर प्रदेशमा ९३ जना प्रदेश सांसद र २ सय ७४ जना स्थनीय तहका प्रतिनिधि थिए । जसमध्ये प्रदेश सांसद ९२ जनाले र २ सय ७२ जना स्थानीय तहका प्रतिनिधिले मत खसालेका थिए ।
राष्ट्रियसभाका यसअघि नै महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल तथा नेपाली काँग्रेसका सरिता प्रसाई निर्वाचित भएका थिए । यस्तै खुल्लातर्फ पनि वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली काँग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन् । विजयी उम्मेदवारलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।