प्रदेश नम्बर १ मा शेरधन राई मुख्यमन्त्री हुने पक्का भएको छ । उनका अनुसार फागुन २ भित्र सरकार बन्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

एकल बहुमत अर्थात् ९३ सदस्यीय प्रदेश सभामध्ये ५१ सिट पाएको एमालेको दलको नेतामा निर्वाचित भएपछि राईले केही दिनभित्रै प्रदेश प्रमुखकहाँ सरकार गठनका लागि पत्र बुझाउने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘अब पार्टीको संसदीय दलको बैठक बसेर बहुमत लिएर प्रदेश प्रमुखकोमा जान्छौँ । ढिलोमा २ फागुनभित्र सरकार गठन भइसक्छ ।’ उनले प्रदेश १ लाई नमुना प्रदेश बनाउने बताए । आफ्नो नेतृत्वमा बन्ने सरकारको मुख्य उद्देश्य नै प्रदेशको विकास र समृद्धि भएको उनको भनाइ छ ।