दमक/ साहित्यिक अभियानका लागि महत्व राख्ने एउटा ठाउँ । मेरो पनि साहित्यिक गतिविधिलाई अभियानगतरुपमा अघि बढाउन थालेको थलो ।

पञ्चायतकाल अर्थात ०४६ भन्दा अघिको दमकको साहित्यक गतिविधिमा तुलसी भट्टराई, गोविन्दराज भट्टराई त्यसपछि दुर्गा दहाल, जीवन आचार्य, प्रकाश बुढाथोकीहरुको अगुवाई थियो । ०४६ पछिका गतिविधिमा प्रतिभा निकेतन र साहित्यकला संगमका संस्थागत साहित्यिक गतिविधि मेरो पुस्ताका साहित्यकारका गुरु हुन् । तर गतिविधिका हिसावले उनीहरु सुस्ताएको अवस्थामा पूर्वाञ्चल गजल मञ्च खडा भएर साहित्यमा पनि गजलको माहौल पूर्वाञ्चललाई नै जगाउने हिसावले दमकबाटै शुरु भएको थियो । त्यो माहौल पनि संस्थागत हिसावको निरन्तरताको क्रमभंग अवस्थामा छ । उनै जीवन आचार्यको स्मृतिमा खडा भएको जीवन स्मृति प्रतिष्ठान राम्रै राशीको अक्षयकोष जम्मा गरेर पछिल्लो समयमा चुप लागेर वसेको छ ।

०४६ पछिकोमा पुरानो संस्थामा पर्ने प्रतिभा निकेतन ओछ्यानै परेजस्तो भएको छ । बेलाबेला गतिविधि गर्ने बोन्साई साहित्य प्रतिष्ठानको उस्तै हालत देखिन्छ । आचार्य प्रभाको घरको कोठामा भेला भएर रचना सुन्ने सुनाउने कामको थालनीबाट जन्मिएको कोठे साहित्यिक यात्राले पनि लामो समय आफ्नो यात्रा जारी राख्न सकेन । दमक क्याम्पस साहित्यिक मञ्च, नेपाल लिटरेरी ग्रुपको अनप्लग कविता, सीधा रचना वाचन, दमक पब्लिक लाइब्रेरी, नेपाली वाङ्मय प्रतिष्ठानका गतिविधिले साहित्यको ऐतिहासिक विरासत वल्लतल्ल जोगाएको देखिन्छ । एफएम रेडियो र हिमशिखर टेलिभिजनका साहित्यिक कार्यक्रमका गतिविधि पनि छन् ।

यसबीचमा दमकेली साहित्यलाई व्यवस्थित हिसावले पुनर्जागृत गर्ने संस्थागत योजनामा यतिवेला साहित्यकला संगम व्यूँतिदै जाँदैछ । ०५२ सालमा जन्मिएर उ बेला सक्रिय भएपनि त्यसयताको लामै समय उसको पनि सक्रियता खास देखिएको थिएन । यसबेला आएर जागरुक युवा पुस्ताबाट उसलाई व्यूँताउने सञ्जिवनीको काम गर्दै गरेको अवस्था छ । उसका योजनाहरु सुन्दा लाग्छ यसले नेपालकै उत्कृष्ठ गतिविधि गर्नेभो । यसको कार्यन्वयन पक्ष के कति प्रभावकारी वन्ला ?

पछिल्लो समयमा एउटा महत्वपूर्ण उर्जा भएका छन् समाजसेवी ज्येष्ठ नागरिक भवानीप्रसाद मिश्र । पञ्चायतकालका दमक नगरका उपप्रमुख समेत भइसकेका मिश्र आफैं भनें साहित्य लेख्दैनन् । तर साहित्यलाई औधी मन पराउँछन् र यसको विस्तारमा आफुले सहयोग गर्न अघि सरेर ११ लाख ५१ हजार रुपैयाँको अक्षयकोष खडा गरिदिएपछि साहित्य कला संगमलाई व्यूँताउँने महत्वपूर्ण कडी वन्न पुग्यो । साहित्य कला संगमका लागि उनले कोष बनाइदिएपछि यही वर्ष कोष सञ्चालनको निर्देशिका तयार भयो ।

संस्थाले वर्षेनी ४ वटा महत्वपूर्ण पुरस्कारको घोषणा गर्यो । जसमा, ५१ हजार १ सय ११ रुपैयाँ राशीको भवानी मिश्र अन्तर्राष्ट्रिय साहित्यिक प्रतिभा पुरस्कार, २७ हजार १ सय ११ को भवानी मिश्र राष्ट्रिय साहित्यिक प्रतिभा पुरस्कार, ११ हजार १ सय ११ को भवानी मिश्र झापा साहित्यिक प्रतिभा पुरस्कार र ५ हजार १ सय ११ को भवानी मिश्र दमक साहित्यिक प्रतिभा पुरस्कारको कुरा संस्थाले सार्वजनिक गरेको छ । साहित्य कला संगम दमकको आफ्नै कोषबाट ७ हजार १ सय ११ रुपैयाँ राशीको साहित्य कलाश्री पुरस्कार समेतगरी ५ वटा पुरस्कार तयार भएका छन् । पुरस्कार दिन वाँकी छ । यो वर्ष तारतम्य मिलाउन नभ्याएर अर्काे वर्षदेखि वितरण हुनेगरी पुस्कारको कार्यक्रम थालिने कुरा सुनाए उर्जाशिल युवा सर्जक विष्णु न्यौपानेले ।

साहित्य कला संगमको यसखाले योजना वन्दै गरेको अवस्था दमक नगरपालिकाले समेत साहित्यिक महत्वलाई आत्मसाथ गरेर श्रष्ठाहरुको भेला गरायो । उसले आफुले सृजनाको मर्म बुझेर साहित्यिक महोत्सवकै कार्यक्रममा हौस्याएपछि यसबेला दमकले आफुलाई साहित्यिक पहिचानको पुनजार्गृत गर्ने तयारीको चरणमा उभिएको देखेको छु । यो कुराले गदगद भएर सर्जकहरुले आउँदो फागुन २१ देखि २४ गतेसम्मका लागि साहित्यिक महोत्सवको मिति नगरपालिका कार्यालयसँग प्रस्ताव गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समयको टुंगो लाग्न वाँकी छ । राष्ट्रपतिबाट उद्घाटन् र प्रधानमन्त्रीबाट समापन गराई सृजनाको महत्व सरकार सञ्चालनका उपल्लो तहमा समेत वोध गरेर सृजना र चेतना क्षेत्रको विकासमा पनि ठूला ठूला योजना बनाइयुन् भन्ने ध्येय राखिएको छ ।

यसका लागि नगरपालिका कार्यालय मुख्य आयोजक र दमकमा रहेका साहित्यिक संघ संस्थाहरु सहआयोजकको हैसियतमा वृहत कार्यक्रमको योजना वन्दैछ । नेपाली साहित्यका उच्च धरोहर माधवप्रसाद घिमिरे, इन्द्रबहादुर राई र सत्यमोहन जोशीलाई दमक उतारेर रथारोहण गराउने र देशका १२ जना विशिष्ट प्रतिभालाई सम्मानित गर्नेखाले चम्किलो, ओजिलो कार्यक्रमको तयारी सुन्दा निकै खुसी लागेको छ । नगरपालिका कार्यालयले नै यसरी अगुवाई गरेर सृजनाको मर्मलाई सवैका मनमस्तिष्कमा पुर्याउनु आवश्यक ठान्ने सामाजिक अभियन्ता नगरप्रमुख रोमनाथ ओलीको अगुवाई अरुतिरका लागि पनि ठूलो सन्देश वनेको छ ।

नगरपालिकाले सहयोग पुर्याउने कामको थालनी ठूलै कार्यक्रमबाट सुरु हुँदैछ । सहयोग अत्यन्तै ठूलो कुरा हो । अर्थात पैसा भएपछि कार्यक्रम गर्न सकिने हुन्छ । तर त्यसो भन्दैमा पनि हुँदो रहेनछ । जीवन स्मृति प्रतिष्ठानमा देशभरीका सर्जक र गैरसर्जकबाट जम्मा भएको झण्डै १५ लाखको अक्षयकोष हुँदा पनि कार्यक्रमले निरन्तरता पाउन सकेको छैन । यसकारण गतिविधि गर्नेहरुको सक्रियता, इमान्दारिता उस्तै ठूलो आवश्यकता वन्दो रहेछ ।

पैसा भएपछि त्यसलाई कसरी चुस्तदुरुस्त रुपमा उपलब्धिमुलक कार्यक्रममा रुपान्तरण गर्ने भन्ने कुराले सँगसँगै महत्व राख्दो रहेछ । पैसा देख्दा महादेवको पनि तिननेत्र भन्ने उखानको पछि लाग्न थालियो भनें सृजना र सर्जकको वदनामको कथा सुरु हुन्छ । संस्थागत रुपमा निरन्तरताको दर्विलो साहित्यिक गतिविधिको सवैतिर खाँचो छ । कुनै संस्था वा समूहका गतिविधि धेरैजसो खहरे भेल जस्तै वन्दै गएको छ ।

यसलाई निरन्तर वगिरहने सङ्लो नदी वनाएर नयाँ पुस्तालाई समेत त्यसको विशालता, स्वच्छन्दता, महानता, जीवनवादिताको अत्यन्तै ठूलो विश्वविद्यालय जोगाइरहनु आवश्यक छ । यसका लागि अहिले व्यूँतिएको साहित्य कला संगम, सिर्जनाको फराकिलो मर्म बुझ्ने नगरपालिका कार्यालय तथा साहित्यिक सहितका सृजनाको कर्मका लागि खोलिएका संस्थाहरुको सक्रियता आवश्यक छ ।