विराटनगर/ विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँचजना व्यक्तिलाई शनिबार पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले १३ औं वार्षिकोत्सवका अवसरमा साहित्य, पत्रकारिता, समाजसेवा, धर्मसंस्कृति र ललितकला विधामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलार्य पुरस्कृत गरेको हो । समाजसेवी हरिभक्त सिटौलाद्वारा आप्mना आमाबुवाको स्मृतिमा स्थापित ‘धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ समालोचक डा. लक्ष्मणप्रसाद गौतमलाई प्रदान गरेको छ ।
यस्तै बालकिसन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार धर्मसंस्कृतिको क्षेत्रमा अविस्मरणीय योगदान पुर्याएका धनगढीका मनिराज जोशीलाई प्रदान गरेको छ । सो पुरस्कार समाजसेवी देवकिसन मुन्दडा र देवेनरा परिवारले स्थापना गरेको हो । त्यस्तै समाजसेवी दीनबन्धु गोयल र उषादेवी गोयलले आप्mना दाजुको सम्झनामा स्थापना गरेको ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ समाजसेवी तथा एबीसी नेपालका अध्यक्ष दुर्गा घिमिरेलाई प्रदान गरेको छ ।
प्रतिष्ठानले वरिष्ठ पत्रकार दुर्गानाथ शर्मालाई ‘नरेश सुवेदी पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । समाजसेवी दिनेश सुवेदीले भाइको सम्झनामा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । चेतना संरक्षण प्रतिष्ठानका अध्यक्ष साहित्यकार गंगा सुवेदीले आफ्ना आमाबुवाको नाममा स्थापना गरेको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेललाई प्रदान गरेको छ ।
पाँचवटै पुरस्कारको राशि ५१–५१ हजार र सम्मानपत्र रहेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त (श्रीभक्त श्रेष्ठ), प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी र पुरस्कारका संस्थापकहरुले दोसल्ला ओढाएर नगदसहित सम्मान सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
पुरस्कार प्राप्त गरेपछि पाँचैजनाले चेतना प्रतिष्ठानले प्रदान गरेको पुरस्कारले आफूलाई अगाडि बढ्न थप बल पुग्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति श्रीभक्त श्रेष्ठ सरुभक्तले नेपाली भाषा साहित्यमाथि चौतर्फी आक्रमण भइरहेको बताए । “नेपाली भाषा साहित्यमा अहिले विभिन्न नामबाट आक्रमण भइरहेको छ,” उनले भने, “सबै मिलेर भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्छ ।”
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भाषा साहित्यको विकासका महानगरपालिका योजनाबद्ध रुपमा लागेको बताए । उनले आगामी वैशाखमा राष्ट्रिय साहित्य गोष्ठी गर्ने उद्घोष गरे । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रममा चेतना सन्देशका संरक्षक रमाप्रसाद रिजाल, प्रतिष्ठानका मानार्थ सदस्य तोरेन्द्रमानसिंह प्रधान र विशिष्ट सदस्य नरेन्द्रकुमार प्रसाईंलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।